१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
दानबहादुर सुनार
२o८२ असार १ आइतबार o९:२२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कानुनको परिपालनामा नैतिकताको सीमारेखा

Read Time : > 4 मिनेट
दानबहादुर सुनार
नयाँ पत्रिका
२o८२ असार १ आइतबार o९:२२:oo
  • व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यव्यवहार गरी उच्च नैतिकता प्रदर्शन गर्ने हो भने संवैधानिक सर्वोच्चता र कानुनी शासन कायम हुन्छ

विधान र कानुनको परिपालना नागरिकको नैतिक धरातलमा अडिएको हुन्छ । विश्व परिवेशको ऐतिहासिक विरासतलाई केलाएर हेर्ने हो भने पनि राज्यव्यवस्थाको सफलता वा असफलता नागरिकको इमानदारीसँग जोडिएको देखिन्छ ।

संविधान र कानुनको परिपालना गर्ने नागरिक नै इमानदार र नैतिकवान् भएनन् भने जतिसुकै उत्कृष्ट संविधान भए पनि राज्यव्यवस्था सफल हुन सक्दैन । नैतिक धरातल खस्किएको समाजमा अशान्तिको बीजारोपण हुन्छ । आपसी द्वन्द्व र खिचातानी मौलाउँदै जान्छ । हिंसा, दमन र विभेदले प्रश्रय पाउँछ । समग्रमा राज्य व्यवस्था नै खल्बलिन्छ ।

विभिन्न देशका संविधान र कानुनको ऐतिहासिक र वर्तमान पृष्ठभूमि हेर्दासमेत संविधान र कानुन उत्कृष्ट नभएका राज्य पनि सुशासन र विकासका दृष्टिकोणले उत्कृष्ट देखिएका उदाहरण धेरै छन् । यसको अर्थ समाज र राज्यव्यवस्था कानुनले मात्रै नभई मूल्य, मान्यता, आदर्श र नैतिकताले पनि चल्ने गर्छ भन्ने हो । राज्य व्यवस्था उत्कृष्ट र सफल हुनका लागि कानुन नै राम्रो चाहिन्छ भन्ने हुँदैन । नागरिक इमानदार र नैतिकवान् भइदिए भने राज्य व्यवस्था त्यसै सफल हुन्छ ।

हाम्रो देशका वर्तमान परिघटना हेर्दा उच्च तहका राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै पनि संविधानमाथि पटक–पटक प्रहार भएका छन् । देशमा दण्डहीनताले प्रश्रय पाएको छ । भ्रष्टाचार र बेथिति पनि दिनानुदिन बढ्दै गएको छ । परिणामस्वरूप एकातिर देशमा आपराधिक गतिविधिको शृंखला डरलाग्दै गरी बढ्दै गएको छ भने अर्कातिर देश चरम आर्थिक संकटको भुमरीमा पर्ने खतरा पनि देखिन्छ ।

पछिल्लो समय अदालतको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक हेर्दासमेत मानव अधिकार उल्लंघन, फौजदारी अपराध र भ्रष्टाचारजन्य कसुर उल्लेख्य मात्रामा बढिरहेका देखिन्छन् । यी सबै गतिविधिको अन्तर्यभित्र हाम्रो नैतिकता र इमानदारी पनि सँगसँगै जोडिएका छन् ।

नैतिकता र इमानदारीको सीमारेखा संविधान र कानुनको सफल कार्यान्वयनमा अपरिहार्य सर्त बनिसकेको छ । कतिपय राजनीतिक निर्णय र प्रशासनिक वृत्तमा समेत संविधान र कानुनलाई कलुषित भावका साथ व्याख्या गर्ने परिपाटी छ । संविधानको आफूअनुकूल अपव्याख्या गर्ने, संविधानका धारालाई तोडमोड गरी आफ्ना पक्षमा सिद्ध गराउन खोज्ने, संविधानमाथि जालझेल गर्ने गरेका प्रशस्तै घटनाले नैतिकताको सीमारेखा नाघेको प्रस्ट हुन्छ । सरकार बनाउने र भत्काउने, राष्ट्रपति र उपराष्ट्रपति नियुक्त गर्ने, संसद्को वैधानिकता र आयुमाथि प्रहार गर्नेलगायत अनेक किसिमका खिचातानीले देश आक्रान्त बनेको छ । 

विभिन्न कालखण्डका शासन व्यवस्थालाई फर्केर हेर्दा निहित राजनीतिक र व्यक्तिगत स्वार्थका कारण संविधानको आफूअनुकूल व्याख्या गरी संसद्को विघटन गरिए र अदालतले ती कदमलाई गैरसंवैधानिक ठहर गरी संसद् पुनर्वहाली गरिदियो । 

त्यस्तै सरकार गठन गर्ने तथा विश्वासको मत लिने विषयमा पनि संविधानको जबर्जस्ती परिपालना गर्न खोजिएका उदाहरण धेरै छन् । पछिल्ला परिघटना हेर्दासमेत सभामुखले मत दिन नपाउने संवैधानिक बन्देजलाई समेत बेवास्ता गर्दै सभामुखको मत पनि जोडेर सरकार गठन गर्ने काम पनि गरेको देखियो । सरकार टिकाउन गैरसंवैधानिक रूपमा मत लिने कार्य पनि भए र अनन्तः सो कार्यलाई समेत अदालतले गैरसंवैधानिक ठहर गर्दै बदर गरिदियो । त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा पनि संविधानको आफूअनुकूल हुने गरी अपव्याख्या गरियो । फरक लिंग वा समुदायको हुने भनी प्रस्ट लेखिएको व्यवस्थालाई समेत नजरअन्दाज गर्न खोजियो ।

उल्लिखित सन्दर्भलाई केलाएर हेर्ने हो भने पनि संविधानमा प्रस्ट लेखिएका कुरालाई पनि निहित स्वार्थका कारण संविधान पालनकर्ताका रूपमा रहेका उच्चपदस्थ राजनीतिज्ञ र प्रशासनिक नेतृत्वबाटै संविधान मिच्ने र संविधानको चीरहरण गर्ने प्रयास पटक–पटक भए । र, यी सब व्यक्तिले नैतिकताको सीमारेखा नाघ्नुका परिणाम हुन् । हामी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यव्यवहार गर्ने र उच्च नैतिकता प्रदर्शन गर्ने हो भने संवैधानिक सर्वोच्चता र कानुनी शासनको अवधारणा बलियो हुँदै जानेछ । राज्य सञ्चालनको बागडोर सम्हालेर स्वयं सरकारमा बसेका कतिपय पदाधिकारीबाटै पटक–पटक स्वेच्छारिताको पराकाष्ठाले सीमा नाघ्दा संविधान र कानुनको उल्लंघन हुने गरेको छ । संविधान र कानुनमा प्रस्ट लेखिएका विषयलाई विषयान्तर गरी निर्णय गर्ने दुष्प्रवृत्तिले सुशासनमाथि पनि प्रश्न उठ्ने गर्छ । कानुनले प्रस्ट रूपमा गर्नु भनेको कार्यमा हस्तक्षेप र उच्च सक्रियता देखाई स्वेच्छाचारीपन लाद्ने र अंकुश लाउन खोज्ने कार्यले शासन व्यस्था कमजोर हुन्छ ।

जुन दल सरकार र शक्तिमा पुगेको छ, सो दलले आफ्नो दल र दलका नजिकका मान्छेलाई फाइदा पुग्ने र आफूइतरका दल वा सो दलसँग आस्था राख्ने व्यक्तिलाई निस्तेज पार्ने कामले राज्य व्यवस्थाप्रति आमनागरिकको विश्वास रहँदैन । अवसर र पहुँचका सन्दर्भमा पनि योग्यता र क्षमतालाई उच्च प्राथमिकतामा राखिनुपर्छ । नेपालको फौजदारी न्याय प्रणालीकै सन्दर्भमा पनि हामी आफैँ आत्मसंयमित र नैतिकवान् भइदिने हो भने कतिपय फौजदारी कानुन स्वतः कार्यान्वयन हुँदै जान्छन् । यसले गर्दा कानुनको परिपालना त हुन्छ नै सँगसँगै कानुनप्रतिको उच्च सम्मान पनि प्रतिबिम्बित हुन्छ । एक असल नागरिकको कर्तव्य पनि यही हो । संविधान र कानुनप्रतिको उच्च सम्मान र निष्ठाले नै राष्ट्र बलियो हुन्छ ।

जातीय तथा सामाजिक विभेद, बोक्सी प्रथा, छाउपडी प्रथालगायत अन्धविश्वास र मानवताविरोधी कार्य कानुनी रूपमा सामान्य अपराध मात्रै होइनन्, गम्भीर दण्डनीय अपराध पनि हुन् । तथापि, अझै पनि राज्यका थुप्रै भूभाग र समुदायमा विभेद र कुरीतिजन्य कार्य हाकाहाकी भइरहेका छन् । परम्परादेखि सामाजिक कुप्रथाका रूपमा जरा गाडेर बसेका अपराधजन्य कार्यलाई अहिले पनि हाम्रो समाजले गलत हो भनी भन्न र मान्न सकेको छैन ।

बाहिर उच्च आदर्शका कुरा गर्नेहरू पनि व्यवहारमा निकृष्ट हुने गरेका उदाहरण धेरै घटनाक्रमले देखाउँछन् । विश्वका विकसित देश चन्द्रमामा पुगिसके, हवाईजहाज बनाएर उडाइसके, अत्याधुनिक उपकरणको आविष्कार गरिसके, हाम्रा देशका नागरिकचाहिँ अझै पनि सामाजिक कुप्रथाका भ्रमसँगै रुमल्लिरहेका छन् । अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा राष्ट्रिय कानुनले वर्जित गरेका र मानव अधिकारको विश्वव्यापी मान्यताविरुद्धका कुप्रथा र अपराधजन्य कार्यलाई अझै पनि हामीले अन्तर्हृदयबाट निरुत्साहित गर्न सकिरहेका छैनौँ ।

जबर्जस्ती करणी, हत्या, हिंसा, लुटपाट, कुटपिटकै घटनाको अन्तर्वस्तु खोतलेर हेर्ने हो भने पनि हाम्रै वरिपरिका नातागोता र आफन्त अपराध कर्ममा संलग्न छन् । नैतिक रूपमा स्खलित र दिग्भ्रमित भइसकेका यस किसिमका व्यक्तिले समाजलाई प्रदूषित बनाइरहेका छन् । हामी भ्रष्टाचारविरुद्ध कठोर कानुन पनि बनाएका छौँ, तर भ्रष्टाचार घट्नुको साटो बढेकोबढ्यै छ । नेतादेखि कर्मचारी र व्यापारीदेखि ठेकेदारसम्म भ्रष्टाचारमा लिप्त भएको देख्न सकिन्छ । कानुनी शासन भएको देशमा चिकित्सक हाकाहाकी कुटिन्छन् । गुन्डागर्दी बढेकोबढ्यै छन् । बाटो हिँड्ने यात्रीमाथि प्रहार हुन्छन् । कार्यालयमै शिक्षक र कर्मचारी कुटिन्छन् ।

सत्ययुगमा अहिलेको जस्तो लिखित संविधान र कानुन थिएनन्, तथापि त्यतिवेलाको समाज व्यवस्थित र मर्यादित थियो । सुसंस्कृत र सभ्य थियो । व्यक्तिहरू नैतिकवान् थिए । हत्या, हिंसा, चोरी, डैकती बिरलै हुन्थे । अहिले कठोर कानुन बनाइए पनि हत्या, हिंसा र चोरी डकैतीको शृंखला डरलाग्दो गरी बढिरहेको छ । आपराधिक मनोवृत्ति दिनानुदिन बढिरहेको छ ।

राजनीतिक र सामाजिक संस्कार हराउँदै गइरहेको छ । संविधान र कानुनको चीरहरण भइरहेको छ । स्वेच्छाचारीपन बढिरहेको छ । संविधानका धारालाई स्वार्थअनुकूल अपव्याख्या गर्ने दुष्प्रवृत्ति बढिरहेको छ । समग्रमा नैतिकताको खडेरी देखिएको छ ।

तसर्थ, नैतिकता र इमानदारीको सीमारेखाभित्र बसेर भ्रष्टाचार र कमिसनतन्त्रबाट माथि उठौँ । संविधान र कानुनको परिपालनाका सन्दर्भमा उच्च नैतिकता प्रदर्शन गरौँ । संविधानप्रति पूर्ण बफादार रहँदै सत्य र निष्ठापूर्ण कार्यव्यवहार गरौँ । संविधान र कानुनको रक्षा गर्न पूर्ण प्रतिबद्ध बनौँ । संवैधानिक सर्वोच्चता, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको अवधारणा जीवन्त राख्न पनि नैतिकताको सीमारेखा भित्रै बसौँ । 

(सुनार नेपाल सरकारका कानुन अधिकृत हुन्)