१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
२o८२ असार १ आइतबार o६:o३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायली प्रतिरक्षामा नउत्रन पश्चिमा देशलाई इरानको चेतावनी

अमेरिका र  इरानबिच ओमानमा हुने भनिएको आणविक वार्ता रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार o६:o३:oo

इरानले इजरायललाई दिइएको सम्भावित सहयोगको विषयमा अमेरिका, फ्रान्स र बेलायतलाई कडा चेतावनी दिएको छ । यस्तो सहयोग गरे मध्यपूर्वमा रहेका ती देशका सैन्य अड्डा र जहाजहरूमा हमला गर्ने इरानको चेतावनी छ । 

इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य आधारलाई लक्षित गरी इजरायलले आक्रमण गरेपछि इरानले शुक्रबार इजरायलमा भीषण मिसाइल हमला गरेको छ । दुई मुलुकले एक–अर्काविरुद्ध थप कारबाही गर्ने चेतावनी दिएका छन् ।

यसैबिच मध्यपूर्वका धेरै देशहरू कतार, साउदी अरेबिया र ओमानसहितले इजरायलद्वारा इरानमा गरिएको आक्रमणको निन्दा गरेका छन् । कतारले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि इजरायलले पुर्‍याएको खतराबारे चेतावनी दिएको छ । त्यस्तै, साउदी अरेबियाले इरानमाथि इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । 

यस्तै, चीनले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न आग्रह गरेको छ । ‘इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डता उल्लंघन गर्ने इजरायलको कार्यको चीनले निन्दा गर्छ,’ संयुक्त राष्ट्रका लागि चीनका स्थायी प्रतिनिधि फु कङले भने । द्वन्द्वको वृद्धिले कसैको हितमा काम नगर्ने बताउँदै इजरायललाई तत्काल सबै सैन्य दुस्साहस बन्द गर्न उनले चेतावनी दिएका छन्् । यस्तै, रुसले पनि इजरायली हमलाको निन्दा गरेको छ ।

यसैबिच, इजरायलविरुद्ध तत्काल कदम चाल्न इरानले संयुक्त राष्ट्रसंघलाई आह्वान गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेससँगको टेलिफोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको उल्लेख गरेका छन् । यसलाई उनले आफ्नो देशविरुद्धको स्पष्ट आक्रमणका रूपमा वर्णन गर्दै राष्ट्रसंघको बडापत्रको धारा ५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको संकल्पलाई पुष्टि गरेका छन् । उनले राष्ट्रसंघीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् । इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्नेसमेत उनले बताएका छन् ।

तेहरान र वासिङटनबिच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधालाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसंघीय महासचिव गुटेर्रेसले निन्दा गरेका छन् । आक्रमणपछि गुटेर्रेसले दुई राष्ट्रलाई युद्धविराम गर्न आह्वान गरेका छन् । उनले युद्ध रोक्ने समय आएकाले कूटनीतिक समाधानको बाटो अपनाउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रमा शान्ति र स्थिरता पुनस्र्थापना गर्न संयुक्त राष्ट्रसंघले पूर्ण क्षमता प्रयोग गर्ने बताएका छन् ।

ओमानको मस्कटमा हुने भनिएको आणविक वार्ता रद्द
ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले आइतबार हुने भनिएको अमेरिका–इरान आणविक वार्ता नहुने बताएका छन् । उनले ‘एक्स’मा लेखेका छन्, ‘आइतबार मस्कटमा हुने भनिएको इरान–अमेरिका वार्ता अब हुनेछैन । तर, कूटनीति र संवाद नै स्थायी शान्तिको एक मात्र बाटो हो ।’ यसअघि इरानका विदेशमन्त्रीले वर्तमान परिस्थितिलाई हेर्दा अमेरिकासँगको वार्ता जारी राख्नु ‘अवाञ्छनीय’ भएको बताएका थिए । ओमानले अमेरिका र इरानबिचको आणविक कार्यक्रमसम्बन्धी वार्तामा मध्यस्थता गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायलले इरानबाट उत्पन्न हुने आणविक तथा ब्यालिस्टिक मिसाइलजस्ता खतरा निष्क्रिय पार्ने बताएका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले चेतावनी दिएका छन्, ‘यदि जायोनिस्ट आक्रमकता जारी रह्यो भने इरानी सशस्त्र बलबाट अझ कठोर र शक्तिशाली प्रतिक्रिया दिइनेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसका आणविक कार्यक्रमबारे सम्झौता गर्न सुझाव दिएका छन् ।