
गृहमन्त्री रमेश लेखकले केही पार्टी कार्यालयहरूमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणबारे जवाफ दिँदै लेखकले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न किर्ते काम नगर्न आग्रह गरे। यस्ता किर्ते र अमर्यादित काम गर्नेहरूबारे आफूलाई जानकारी आइसकेको भन्दै गृहमन्त्री लेखकले उनीहरूमाथि कारबाही गर्ने चेतावनी दिए।
‘मलाई थाहा छ केही पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरूलाई बोलाएर तथाकथित जाहेरीहरू लेखेर मेराविरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ,’ उनले भने, ‘यस्ता किर्ते, जालसाज र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। यस्ता अपमानजनक कार्यहरू, किर्ते जालसाझ गरेर, नक्कली पीडित खडा गर्ने मानिसहरू पत्ता लगाएर कारबाही गरिनेछ।’