
गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबिच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताएका हुन्।
‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरूले सीमित स्रोत र साधनमा काम गर्नुपरेको छ,’ उनले भने, ‘सरकारले पर्याप्त ध्यान दिँदै छ, दिन्छ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा तुलनात्मक रूपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको बताए। मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताविरुद्ध भइरहेको बताए।
‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ। विज्ञानको प्रयोग भनेको प्रविधिमार्फत गर्ने हो,’ लेखकले विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए।
‘अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ। विज्ञानको प्रयोगले मात्रै पुग्दैन। विज्ञानको सही प्रयोग हुन जरुरी छ। प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ,’ उनले भने, ‘विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ।’ फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्त्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ छ।
‘फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ। पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ कि सकेनौँ ? कुनै पनि आपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ कि सकेनौँ,’ मन्त्री लेखकले भने, ‘त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो। यो क्षेत्रमा अत्यन्त मिहिनेत र क्रियाशीलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ।’