१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विपत् व्यवस्थापनमा तीन तहका सरकारबिच सहकार्य जरुरी : उपप्रमुख डंगोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपत् व्यवस्थापन र विपतजन्य जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वार्टरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपत् प्रतिकार्य कृत्रिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

संकटको वेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपत् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिकासमेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपतकाे जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताइन् ।

‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्‍यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नका लागि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । संविधानको भावनाअनुरूप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरूबिच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपतजन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ,’ उनले भनिन्, ‘त्यसको एउटा उदाहरण आजको कार्यक्रम हो । विपतजन्य घटना हुनुअगावै दक्ष जनशक्ति तयार हुनु हामी सबैको आवश्यकता हो । विपत् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्ने कुरा सुन्न नपरोस् भन्नका लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, रेडक्रस र महानगरबिचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’

सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । उनले विपत् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृत्रिम अभ्यासहरू सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील छ । नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो र बाढीपहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरूमध्येमा छ । काठमाडौं उपत्यकामा पनि केही वर्षदेखि जलप्रकोपका घटनाहरू बढिरहेको हामीले अनुभव गरिरहेका छौँ । बाढी तथा डुबानको कारण उपत्यकामा बर्सेनि ठुलो धनजनको क्षति हुँदै गइरहेको छ । यो वर्ष सरदरभन्दा बढी पानी पर्ने र विपतका घटनाहरूमा समेत वृद्धि हुने देखिन्छ ।’

पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिए ।