
बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा आएको छ।
बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८ः४५ बजेदेखि अवरुद्ध रहेको सडक दिउँसो ३ः४० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सनमाथिबाट पानी बगेपछि बाटो बन्द भएको थियो। डाइभर्सन मर्मत गरी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
गत पुस २६ गते भारतीय हेबी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ। खोलाले यो डाइभर्सनमा अवरोध गरेको यो चौथोपटक हो। यसअघि तीनपटकसम्म खोलाले डाइभर्सन बगाएको थियो।
निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ। नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो।