
काभ्रेपलाञ्चोकको रोशी खोलाको पुलका पाटपुर्जा बिक्री गर्न खोजिएको घटनामा अदालतबाट पक्राउ पुर्जी जारी भएका एक वडाध्यक्ष फरार भएका छन्। अदालतबाट पक्राउ पुर्जी जारी भएका नमोबुद्ध नगरपालिका–६ का वडाध्यक्ष टीकाबहादुर केसी फरार छन्।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतमसहित पाँचजनलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। दुई वडाको पत्रका आधारमा बाढीले बगाएको पुलको पाटपुर्जा कबाडीलाई बिक्री गर्न खोज्ने क्रममा विवाद भएपछि स्थानीयले प्रहरीलाई खबर गरी पक्राउ गराएका हुन्।
वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ र रमेश तामाङ तथा कबाडी संकलकहरू मन्टुकुमार र जितेन्द्र पासवानलाई प्रहरीले गत १२ जेठमा पक्राउ गरेको हो। अनुसन्धानको क्रममा नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष केसीको पनि संलग्नता देखिएपछि उनलाई पनि प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ। फरार रहेका वडाध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए।
गत असोजको बाढीले सो पुल बगाएको थियो। पुलका पाटपुर्जा नदीकिनारमै रहेकोमा चोरी हुँदै आएको थियो। रोशी र नमोबुद्धको सिमानामा पर्ने सो पुलका पाटपुर्जा बिक्री गर्न दुई वडाका अध्यक्षबिच सहमति भएको थियो। तर, कार्यपालिकाबाट निर्णय नगरी कबाडी व्यवसायीलाई पत्र दिइएको थियो। बिक्री प्रक्रिया शंकास्पद देखिएपछि घटना प्रहरीसम्म पुगेको हो। रोशी–७ का वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुन् भने नमोबुद्ध–६ का कांग्रेसबाट निर्वाचित हुन्। एउटै घटनामा संलग्न कांग्रेसका वडाध्यक्षलाई भने प्रहरीले जोगाउन खोजेको आरोप लागेको छ।