
संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका– ९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठुलो तौलको घन्टी चढाइएको छ ।
अमेरिकानिवासी सुरेन्द्र श्रेष्ठदम्पतीले आफ्ना दिवंगत पितृहरूको सम्झनामा मन्दिरमा घन्टी चढाएका हुन् । घन्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घन्टी र घण्टाघर करिब रु. ३४ लाख लागतमा निर्माण गरिएको हो ।
मन्दिरका पुजारी सूर्यप्रसाद कट्टेलले श्रेष्ठदम्पतीले चढाएको घन्टी जिल्लाकै सबैभन्दा ठुलो रहेको दाबी गरे । जनविश्वासअनुसार, पवित्र मनकामना मन्दिरमा श्रद्धापूर्वक पूजा–अर्चना गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।