
आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले बहादुरीपूर्ण ब्याटिङ गर्दै ३२१ रन बनाएको थियो ।
फिनिसिङमा चुक्दा नेपाल ऐतिहासिक जितबाट वञ्चित भयो। अन्तिम ओभरमा दुई विकेट बाँकी रहँदा सात रन चाहिएको अवस्थामा नेपालले चार रन मात्र बनाउन सक्यो । अन्तिम बलमा नेपाल अलआउट हुन पुगेको थियो ।
नेपालका लागि भीम सार्की, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए। भीम सार्कीले ८५ बलमा ७३ रन, सोमपालले ४४ बलमा ६७ रन तथा दीपेन्द्रले ५१ बलमा ५६ रन बनाएका थिए।
डेथ बलिङमा चुक्दा स्कटल्यान्डले उच्च स्कोर बनाएको हो । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४० ओभरमा दुई सय रन बनाएकोमा अन्तिम १० ओभरमा उनले १२३ रन जोडेको थियो । डेथ ओभरमा स्कटल्यान्डका ब्याट्सम्यानसँग नेपाली बलर निरीह बनेका थिए।
यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो।