१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
इरिट काज
२o८२ जेठ २५ आइतबार ११:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गाजाको राहत प्रणाली : मानवतावादको आवरणमा हिंसा

Read Time : > 2 मिनेट
इरिट काज
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार ११:११:oo
  • गाजाका बस्ती ध्वस्त पार्दै राहत प्रणालीलाई केन्द्रीकृत गरेर इजरायलले मानवीय सेवालाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको छ

यही ३ जुन बिहान गाजाको दक्षिणी क्षेत्रमा राहत लिन आएका सर्वसाधारणमाथि इजरायली सेनाको गोलीबारीमा कम्तीमा २७ प्यालेस्टिनी मारिए । यसअघि १ जुनमा पनि रफाहनजिकै राहत केन्द्रमा यस्तै घटना हुँदा करिब ३० जना मारिएका थिए । इजरायली र अमेरिकी सरकार तथा उनीहरूले समर्थन गरेको गाजा ह्युमानिटेरियन फाउन्डेसन (जिएचएफ) ले पहिले गोली चलाएको रिपोर्ट अस्वीकार गरेका थिए । तर, ३ जुनपछि इजरायली सेनाले केही ‘संदिग्ध व्यक्ति’ नजिकिँदा गोली चलाएको स्विका¥यो । र, जिएचएफले ती मानिस ‘सुरक्षित मार्ग’ नाघेर ‘बन्द सैन्य क्षेत्र’मा पुगेको दाबी ग¥यो । यस्ता हिंसा अप्रत्याशित होइनन्, किनभने मार्चको सुरुदेखि इजरायली नाकाबन्दीपछि गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर भएको छ । विभिन्न अन्तरसरकारी तथा गैरसरकारी संस्थाको साझा संयन्त्र ‘आइपिसी’ले गाजाको सम्पूर्ण जनसंख्या गम्भीर भोकमरीको अवस्थामा पुगेको प्रतिवेदन सार्वजनिक गरिसकेको थियो । जिएचएफको राहत वितरण प्रणालीलाई सुरु हुनुअगावै आलोचना गरिएको थियो । २५ मेमा जिएचएफका अमेरिकी निर्देशक जेक वुडले संस्थाले मानवीय सिद्धान्त पूरा गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए ।

विभाजन एवं नियन्त्रण : जिएचएफको राहत योजना डिसेम्बर २०२४ मा सार्वजनिक भएको इजरायली सेनाका पूर्वउच्च अधिकारीको समूह आइडिएसएफको योजनासँग मिल्दोजुल्दो छ । यसले युएनआरडब्लुएबाट राहत जिम्मा हटाएर इजरायलकै निगरानीमा ल्याउने प्रस्ताव गरेको थियो । त्यसैअनुरूप इजरायलले यस वर्षको सुरुमा युएनआरडब्लुएलाई प्रतिबन्ध लगायो । आइडिएसएफका अनुसार युएनआरडब्लुए र हमासको वितरण संरचना अन्त्य गरी ‘राहत वितरण गर्ने हात नै नियन्त्रण गर्ने हात हो’ भन्ने सिद्धान्तमा आधारित शिविरमार्फत गाजाभित्र राहत वितरण गरिनेछ । स्मरण रहोस्, हाल गाजाको ९० प्रतिशतभन्दा बढी जनसंख्या आन्तरिक रूपमा विस्थापित छ ।

आइडिएसएफ योजनाले ‘गाजाका ठुला हिस्सा नष्ट भइसकेका छन् वा अब बसोवासयोग्य छैनन्’ भन्ने स्विकार्दै ‘युद्ध समाप्त भएपछि पनि आन्तरिक रूपमा विस्थापितका लागि घर फर्किन’ तुरुन्तै सम्भव नभएको र आफूले फर्कन सिफारिस नगर्ने जनाएको छ । सो योजनाअनुसार अझै पनि सर्वसाधारण बसोवास गरिरहेका गाजाका क्षेत्रलाई ‘लम्बाइ र चौडाइको अक्ष प्रणाली’बाट विभाजन गरिनेछ । यो विभाजनअन्तर्गत बनाइएका प्रत्येक ‘आन्तरिक रूपमा विस्थापित सहर’लाई ‘अस्थायी स्वतन्त्र प्रशासनिक क्षेत्र’का रूपमा व्यवस्थित गरिनेछ, जुन ‘विभाजन गरेर शासन गर्ने’ सिद्धान्तमा आधारित हुनेछ । यस योजनाअनुसार गाजामा मानवीय सहयोग ‘आन्तरिक रूपमा विस्थापित सहरमा आधारित निर्देशनालय’ र ‘बायोमेट्रिक प्रणाली’मार्फत सञ्चालित हुनेछ । आइडिएसएफले यसलाई ‘डे अफ्टर प्लान’ नाम दिँदै हमास र नागरिकबिचको सम्बन्ध तोड्ने उद्देश्य राखेको छ । तर, एक वरिष्ठ इजरायली सैन्य कमान्डरले हमासलाई पूर्ण रूपमा नष्ट गर्नु असम्भव रहेको बताएका छन् ।

जमिनी वास्तविकता : जिएचएफले अहिले जुन ढंगले राहत वितरणको व्यवस्था गरिरहेको छ र यसले आइडिएसएफको योजनाका केही प्रमुख सिद्धान्त पूरा गर्छ । आइडिएसएफले राष्ट्रसंघीय राहत वितरण प्रणाली हटाएर इजरायल र अमेरिका दुवैले समर्थन गरेका एक निजी संस्थालाई ल्याएको छ । र, जिएचएफले जम्मा चारवटा स्थानबाट मात्र राहत वितरण गरिरहेको छ । यी चार स्थान गाजाको भूभागमा असमान ढंगले फैलिएका छन् । तीन वितरण केन्द्र रफाहको दक्षिण–पश्चिम सानो क्षेत्रमा छन् भने चौथो गाजाको दक्षिणमा रहेको नेतजारिम करिडोरनजिक छ, जुन इजरायली सेनाको नियन्त्रणमा रहेको क्षेत्र हो । राहत पाउन लाइनमा बस्नुपर्ने व्यक्तिलाई साँघुरो तारबारले घेरेको गल्ली हुँदै ठुलो राहत केन्द्रमा पुग्नुपर्छ । त्यहाँ पुगेपछि उनीहरूले परिचय पत्र परीक्षण र आँखाको स्क्यानिङ प्रक्रिया पूरा गर्नुपर्छ, जसको उद्देश्य राहत वितरणमा कडाइ गर्नु हो ।

यो प्रणालीका कारण मानिस घन्टौँ गर्मीमा पर्खनुपरेको छ, आम मानिसले बार भत्काएर राहत लिन खोज्दा हिंसाको अवस्था सिर्जना भएका छन् । ३ जुनकै घटनामा तीन बालबालिका र दुई महिला मारिएका थिए । यस्ता हिंसात्मक घटना घट्नुअघि नै जिएचएफको योजना प्यालेस्टिनी र अन्तर्राष्ट्रिय संस्थाको आलोचनाको विषय बनिसकेको थियो । वितरण केन्द्र टाढा भएका कारण धेरैलाई राहत लिन लामो दूरी हिँड्नुपर्छ । युनिसेफका प्रवक्ता जोनाथन क्रिकले ‘चार सन्तानकी आमा, जसले श्रीमान् गुमाएकी छिन्, कसरी २० किलो राहत बोकेर कहिलेकाहीँ कैयौंँ किलोमिटर टाढाको टेन्टसम्म जान सक्लिन् ?’ भन्दै प्रश्न उठाएका छन् ।

सहरी डिजाइन, द्वन्द्व र विस्थापनमा अनुसन्धान गर्ने व्यक्तिका नाताले गाजाको सानो क्षेत्रमा केन्द्रित चारवटा ‘मेगा साइट’बाट राहत वितरण गर्दा भिड, अराजकता र हिंसा अनिवार्यजस्तै हुन्छ भन्ने म स्पष्ट रूपमा देख्छु । गाजाका बस्नयोग्य क्षेत्र ध्वस्त पार्दै वितरण प्रणालीलाई केन्द्रीकृत गरेर इजरायलले मानवीय सेवालाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको संकेत हो । यो योजनामा मानवीय आवश्यकताभन्दा भू–राजनीतिक प्राथमिकता हाबी देखिन्छ । जिएचएफ प्रणालीले प्यालेस्टिनी नागरिकलाई अस्थायी, असुरक्षित र अस्वस्थ शिविरमा राख्न सहयोग गरिरहेको छ, जुन महिला र बालबालिकाका लागि विशेष रूपमा जोखिमपूर्ण छ । यस्ता क्षेत्रले इजरायली आक्रमणको पनि जोखिम बोकेको छ ।

बायोमेट्रिक परीक्षणलाई सहयोग नभई नियन्त्रणको हतियारका रूपमा प्रयोग गरिने भय प्यालेस्टिनीमाझ व्यापक छ । र, अहिले राहत खोज्न निस्किएका मानिस मर्न थालेका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविरामको पहल गर्न र गाजामा ठुलो मानवीय राहत अभियानका लागि इजरायलमाथि दबाब दिनु आवश्यक छ । मौजुदा जिएचएफ प्रणाली कायम राख्नु भनेको अर्को त्रासदी निम्त्याउनु हो ।

(काज क्याम्ब्रिज विश्वविद्यालयमा आर्किटेक्चर एवं सहरी अध्ययनकी सहप्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट