१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
मीनराज बसन्त काठमाडाैं
Invalid date format १o:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जीवन बिमा पहुँच हालसम्मकै उच्च विन्दुमा : ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको दायरामा

Read Time : > 1 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

जीवन बिमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बिमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले बिमाको पहुँच ४७.३९ प्रतिशत नागरिकमा पुगेको देखाएको हो, जुन हालसम्मकै उच्च हो । 

वैशाखसम्म एक करोड ५३ लाख ६ हजार नौ सय ९३ वटा जीवन बिमालेख सक्रिय छन् । गत आवको वैशाखसम्म सक्रिय जीवन बिमालेख एक करोड ३९ लाख ५५ हजार आठ सय ८७ थियो । त्यसवेला बिमाको पहुँच ४३.५६ प्रतिशत थियो । 

कतिपयले दुईवटाभन्दा बढी बिमालेख खरिद गरेका हुन्छन् । तसर्थ, कुल सक्रिय जीवन बिमालेखलाई ५ प्रतिशतले घटाएर बिमा पहुँच गणना गरिन्छ । सोहीअनुसार बिमा पहुँच ४७.३९ प्रतिशत कायम भएको हो, जुन हालसम्मकै उच्च हो । 

यसअघि असार ०८० मा ४४.३८ प्रतिशत नेपाली बिमा सेवामा आबद्ध थिए, जुन त्यसवेलासम्मकै उच्च हो । तर, त्यसपछि त्यो घट्दै आएको थियो । साउन ०८० मै बिमा पहुँच ४४ प्रतिशतमा सीमित भएको थियो । असार ०८१ सम्म आउँदा त्यो थप घटेर ४३.२७ प्रतिशतमा सीमित भएको थियो ।

गत असोज मसान्तसम्म आउँदा त्यो थप घटेर ४२.८४ प्रतिशतमा सीमित भएको थियो । विशेष गरी यसबिचमा देखिएको आर्थिक शिथिलताले बिमाको पहुँच घट्दै गएको थियो । तर, कात्तिकयता भने बिमा पहुँच बढ्दै आएको छ । त्यो क्रममा गत चैतमा बिमा पहुँच ४४.६४ प्रतिशत पुगेर पुरानो रकेर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको थियो । वैशाखमा त्यो थप बढेर नयाँ उचाइमा पुगेको हो । 

तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमाबाहेकको अवस्थामा १६.७७ प्रतिशत नागरिकमा बिमाको पहुँचमा देखिएको छ । वैदेशिक रोजगारी बिमालेख हटाउँदा भने ३९.३१ प्रतिशत नागरिकमा बिमा पहुँच रहेको तथ्यांकमा उल्लेख छ । सबै प्रकृतिको बिमालेख गरेर बिमाको पहुँच ४७.३९ प्रतिशत कायम भएको प्राधिकरणको भनाइ छ । योअनुसार अब ५२.६१ प्रतिशत नागरिक बिमाको दायरामा आउन बाँकी देखिन्छ । 

प्राधिकरणले चालू आव ०८१/८२ मा बिमा पहुँँच ५० प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको छ । तर, असार ०८२ पुग्दा त्यो लक्ष्य प्राप्ति हुने सम्भावना न्यून देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

१२ लाख ५४ हजार पोलिसी नवीकरण गर्न बाँकी
प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूमा १२ लाख ५४ हजार चार सय ७८ वटा पोलिसी नवीकरण नभई बसेका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा ११.६३ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्म नवीकरण नभई बसेका पोलिसीको संख्या ११ लाख २३ हजार सात सय ४२ वटा थियो । अहिले त्यो संख्या थप बढेको छ । रकमका आधारमा २६ अर्ब ८६ करोड १० लाख रुपैयाँबराबरको पोलिसी नवीकरण हुन बाँकी छ ।

गत आवको यसै अवधिमा ३० अर्ब ९८ करोड  ६७ लाख रुपैयाँबराबरको पोलिसी नवीकरण भएको थियो । बिमितले सामान्यतः १०, १५, २०, २५ वर्षलगायतको अवधि राखेर बिमा गर्छन् । त्यसका लागि बिमितले हरेक वर्ष बिमाशुल्क तिर्नुपर्छ । त्यो नतिरेको अवस्थामा पोलिसी व्यतीत अर्थात् नवीकरण नभई बस्छ ।

त्यसपछि त्यसले जोखिम रक्षावरण गर्दैन । बिमा अवधि सकिएपछि बिमितले रकम भने बोसनसहित फिर्ता पाउनेछन् । साथै, बिचमा कुनै पनि वेला बक्यौता र विलम्ब शुल्क तिरेर पोलिसी नवीकरण गर्न सक्नेछन् । चालू आवको १० महिनामा १२ अर्ब २७ करोड २३ लाख रुपैयाँबराबरको ८८ हजार ६ सय ३५ वटा बिमालेख सरेन्डर भएको छ । रकमका आधारमा यो ११.७० प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा १० अर्ब ९८ करोड ७१ लाख रपैयाँको बिमालेख सरेन्डर भएको छ ।