
भारतमा कोरोना संक्रमित बढ्दै गएको समाचार आउँदै गर्दा हाम्रो तयारी कस्तो छ ?
छिमेकी भारतमा कोभिडको संक्रमण बढेपछि ढिलोचाँडो त्यो नेपालमा आउँछ भनेरै हामीले त्यसबारे तयारी गरेका छौँ । हामीले १७ स्थल नाका र तीन हवाई नाकामा हेल्थ डेस्क राखेका छौँ । त्यहाँबाट आउनेलाई हेल्थ डेस्कबाट ‘स्क्रिनिङ’ र ‘काउन्सिलिङ’ भइरहेको छ । तर, तत्कालका लागि हामीसित भनेजति सबैको स्क्रिनिङ गर्न किट उपलब्ध नभएको हुनाले ‘सेलेक्टेड’लाई मात्र स्क्रिनिङ गरेर कोभिडको ‘भेरियन्ट’ या ‘सब–भेरियन्ट’ पत्ता लगाउन ल्याबमा पठाउन भनेका छौँ । साथै, सामान्य रुघाखोकी, ज्वरो आएकालाई चाहिँ काउन्सिलिङ गरेर घर पुगेपछि केही दिन परिवारका सदस्यसितको सम्पर्कबाट अलग बस्न सल्लाह दिइरहेका छौँ ।
नाकामा ‘एन्टिजेन किट’ को अभाव चैँ किन भएको हो ?
विगतमा हामीले खरिद गरेका खोप, एन्टिजेन किट आदि उपयोग हुन नसक्दा एक्स्पायर भएकाले राज्यको पैसा खोलामा बगाइयो भनेर मिडियाले नै लेखेको हो । त्यसैले, पनि हामीले अत्यावश्यक परिमाणमा मात्र निकै कम किट खरिद गरेका छौँ । यसरी किट खरिद गर्दा नेपाल सरकारको आर्थिक हैसियत पनि हेर्नुपर्छ । तर, अहिले छिमेकी मुलुकहरूमा संक्रमणको दर बढ्दै गएपछि भने किट खरिद प्रक्रिया अघि बढाइएको छ । अब छिटै आइपुग्छ र नाकाहरूमा किटको अभाव हुनेछैन ।
सर्वसाधारणले चाहिँ कत्तिको सावधानी अपनाउन जरुरी छ ?
कोभिड संक्रमणको विगतबाट आमनेपाली सचेत हुन सकेको देखिन्न । उहाँहरूले जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालनामा खासै चासो दिनुभएको छैन । संक्रमणको जोखिम बढिरहेको अहिलेको समयमा सकभर भिडभाडमा नजान, रुघाखोकी र ज्वरो आएको अवस्थामा सार्वजनिक भेटघाट नगर्न सचेत हुनु जरुरी छ । बाहिर निस्किँदा मास्क लगाउन र साबुनपानीले हात धुन पनि उत्तिकै जरुरी छ । साथै, आफ्नै मान्छे भए पनि प्रभावित क्षेत्रबाट फर्किएको अवस्थामा केही दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु राम्रो हुन्छ ।