१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

११ महिनापछि देउवा–प्रचण्ड द्विपक्षीय भेट, संसद् खुलाउने कसरत

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच द्विपक्षीय भेटवार्ता भएको छ । प्रचण्ड शनिबार देउवा भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । यसअघि पटक–पटक दुई नेताबिच फोन संवाद भएको र पछिल्लो समय प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा केही त्रिपक्षीय भेटवार्ता भए पनि देउवा–प्रचण्डबिच द्विपक्षीय भेट भने पहिलोपटक भएको हो ।

भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगीमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादीलगायत विपक्षी दलले झन्डै दुई सातादेखि अवरुद्ध गरेको सदन खुलाउने कसरत भेटवार्तामा भएको सहभागी नेताहरूले बताए । उनीहरूका अनुसार प्रचण्डले ०६४ यताका सबै गृहमन्त्रीको कार्यकाल छानबिनका लागि समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए भने देउवाले अख्तियारबाट छानबिन भइरहेको अवस्थामा अन्य समिति बनाउन सम्भव नभएको जवाफ दिएका थिए ।

‘विपक्षी दलहरूको म्यान्डेटअनुसार छलफलका लागि आएको छु । हामीले छानबिन समिति गठनको सुनिश्चितता खोजेका छौँ । यसमा सुनिश्चितता भयो भने सदन सञ्चालन हुन्छ,’ प्रचण्डले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने ।

तर, देउवाले संवैधानिक निकाय अख्तियारबाटै छानबिन भइरहेको विषयमा अर्को समिति बनाउन सम्भव नहुने जवाफ दिएको उनले बताए । देउवाको जवाफ उद्धृत गर्दै खड्काले भने, ‘संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा अन्य कमिटी बनाउने कुरा सम्भव हुँदैन । संसद् खुलाउने वातावरण बनाउनुपर्छ । तपाईंले विपक्षी दलहरूसँग सल्लाह गरेर वातावरण बनाउनुपर्‍यो ।’ दुईपक्षीय अडान कायम रहे पनि थप छलफल गर्ने समझदारी दुई नेताबिच भएको उपसभापति खड्काले बताए । 

१३ जेठदेखि गृहमन्त्री लेखकको राजीनामा मागेर विपक्षी दलले सदन अवरुद्ध गर्दै आएका छन् । संविधानमै १५ जेठमा बजेट ल्याउने कानुनी व्यवस्था भएकाले त्यसका लागि एक दिन सदन चल्न दिएका थिए । हाल बजेटमाथिको छलफलको कार्यसूची रहे पनि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

विपक्षी दलहरूले सदन अवरोधको विषयमा सत्तारूढ दलसँग छलफल गरेर निर्णय लिने जिम्मा प्रचण्डलाई दिएका छन् । यही जिम्मा लिएर छलफल गर्न प्रचण्ड देउवानिवास पुगेका हुन् । भेटमा प्रचण्डले विपक्षी दलसँग थप सल्लाह गरेर फेरि छलफल गर्ने बताएका छन् ।

उपसभापति खड्कासहित महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, प्रमुख सचेतक श्याम घिमिरे, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलगायत कांग्रेस नेताहरू विपक्षीसँग नियमित संवादमा छन् । शुक्रबार पनि कांग्रेस नेताले प्रचण्ड, रास्वपा उपसभापति स्वर्णिम वाग्लेलगायतसँग छलफल गरेका थिए । त्यसअघि देउवा र प्रचण्डबिच टेलिफोनमा कुराकानी भएको थियो ।

सरकारको नेतृत्व गरिरहेको एमाले भने यस विषयमा प्रतिपक्षीसँग मात्रै होइन, सत्तापक्षसँग पनि छलफलमा छैन । प्रधानमन्त्री केपी ओलीले पेलेर सदन चलाउने अभिव्यक्ति दिँदै आएका छन् । एमालेले प्रमुख सचेतकमार्फत भिजिट भिसा प्रकरणमा समिति बनाउन आवश्यक नरहेको अडान राख्दै आएको छ ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सदन खुलाउने विषयमा कुनै प्रगति नभएको बताए । ‘नयाँ प्रगति केही पनि भएको छैन,’ उनले भने, ‘हाम्रो माग र अडान यथावत् छ ।’ 

त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि सदन सुचारु गर्ने विषयमा सत्तापक्षले आवश्यक चासो नदेखाएको आरोप लगाए । ‘सरकार पक्षले खास केही गरेको छैन । हाम्रो कुरा स्पष्ट राखेका छौँ । त्यसमा सत्तापक्षले चासो दिनुपर्ने हो, सत्तापक्षले अहिलेसम्म चासो दिएको छैन,’ उनले भने । 

दलहरूबिच कुनै सहमति नबनेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ । विपक्षी माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले बजेट ल्याउनुअघि नै १३ जेठदेखि गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गरेका थिए । तर, संविधानमै १५ जेठमा बजेट ल्याउने कानुनी व्यवस्था भएकाले त्यसका लागि एक दिन सदन चल्न दिएका थिए । हाल बजेटमाथिको छलफलको कार्यसूची रहे पनि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।