१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
एन्फा मुख्यालयमा नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा (बायाँ) र रक्षक हिराकुमारी भुजेलसँग भलाकुसारी गर्दै मुख्य प्रशिक्षक प्याट्रिक विल्डे । तस्बिर सौजन्य : एन्फा
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ २४ शनिबार o८:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ चुनौतीका लागि प्याट्रिक तयार

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o८:५४:oo
  • नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक विल्डे नेपाली राष्ट्रिय महिला फुटबलको उपाधि खडेरी तोड्न मिश्रित टोली बनाउने योजनामा छन्

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक विल्डेले आफू नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६१ वर्षीय उनलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको जिम्मेवारी दिएको छ । शुक्रबार उनलाई एन्फाले पत्रकारमाझ उपस्थित गराएको थियो । त्यसअघि उनले नेपाली राष्ट्रिय टिमकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा र रक्षक हिराकुमारी भुजेललाई एन्फा मुख्यालयको मैदानमा भेट गरेका थिए ।

प्याट्रिकले आफू टिम हेर्न उत्साहित रहेको बताउँदै नयाँ चुनौती स्वीकार भएको सुनाएका छन्, ‘नयाँ चुनौतीका लागि म तयार छु । तर, दबाब लिएको छैन,’ बेल्जियम प्रशिक्षक प्याट्रिकले भने । उनी महिला फुटबलका लागि प्रो लाइसेन्सप्राप्त पहिलो प्रशिक्षक हुन् ।

उनीसँग सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यू–२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव छ । उनको आगमनसँगै नेपालले एसियन कपमा स्थान बनाउने र वर्षौँदेखि उपाधिको खडेरी तोड्ने आशा गरिएको छ । नेपाल १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दा पनि उपाधिविहीन छ ।

नेपाल दक्षिण एसियाली फुटबलमा बंगलादेश र भारतसँग लगातार पराजित हुँदै आएको छ । तर, प्रशिक्षक प्याट्रिक तत्काललाई एसिया कपका लागि तयार हुने बताउँछन् । ‘छोटो समय छ । त्यसैले अहिले एसिया कप छनोटमा केन्द्रित हुन्छु । पहिलो दिनको प्रशिक्षणका लागि उत्साहित छु,’ उनले भने ।

प्याट्रिकले शनिबार महिला टोलीलाई पहिलोपटक प्रशिक्षण गराउनेछन् । उनले केही नयाँ खेलाडीलाई स्थान दिने संकेत गरेका छन् । यसबिच उनले नेपाल यू–२० महिला टोलीको प्रशिक्षण गरिरहेका थिए । ‘म स्टार खेलाडीलाई मात्रै प्राथमिकतामा राख्दिनँ । सबै खेलाडीको सम्भावना उत्तिकै छ । युवा खेलाडीमा बढी ध्यान दिन्छु,’ मिश्रित टोली बनाउने इंगित गर्दै प्याट्रिकले भने ।

नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा लाओस, उज्वेकिस्तान र श्रीलंकासँग खेल्ने तालिका छ । तीन साताको तयारीपछि नेपाली टिम उज्वेकिस्तानमा पुग्नेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्ने तालिका छ । यस्तै, नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ । 

प्याट्रिक डे विल्ड भन्छन्–

मैले चुनौती र र सम्भावना एकैपटक देखेको छु । पहिलो दिन खेलाडीसँग भेटिरहेको छु । सबै खेलाडीका लागि उत्तिकै अवसर छ । म आशा गर्छु, सकारात्मक नतिजा आउनेछ । धेरैभन्दा धेरै खेलाडी हेर्न चाहन्छु । स्टारलाई मात्रै अवसर दिने पक्षमा छैन । हामी जित्नका लागि खेल्छौँ । अब, हामी च्याम्पियन हुन्छौँ । हामी अहिले साफमा भन्दा पनि उज्वेकिस्तानका लागि तयारी गर्छौँ । लाओससँग खेल्न तयार हुनुपर्छ । फुटबलमा सबै सम्भव छ ।