१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २४ शनिबार o७:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माधवविरुद्धको मुद्दाबारे देउवाले गरे अनभिज्ञता प्रकट 

प्रचण्ड भन्छन्– ओलीको प्रतिशोधको गन्ध देखियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार o७:५६:oo

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायरको विषयमा सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले अनभिज्ञता प्रकट गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष प्रचण्डले भने राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरिएको बताएका छन् । 

मन्त्रिपरिषद्बाट निर्णय गरेर पतञ्जली योगपीठलाई हदबन्दी छुटकोे जग्गा खरिदबिक्रीको अनुमति दिएको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा चलाएको थियो । यो मुद्दापछि राजनीतिक वृत्त तरंगित छ ।

नेता नेपालमाथिको मुद्दामा प्रधानमन्त्री केपी ओलीको प्रतिशोधको गन्धसमेत आएको प्रचण्डको भनाई छ । ‘प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ । सरकारले राजनीतिक प्रतिशोध साँध्ने ढंगले यसलाई अगाडि बढाउन खोजेको नै देखिन्छ । अख्तियारको कदमले पनि केही प्रश्न त उठेको छ,’ उनले शुक्रबार पत्रकारसँग भने ।

मन्त्रिपरिषद्को निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भनेर चिठी लेख्ने अख्तियारले अहिले पूर्वप्रधानमन्त्रीमाथि नै सिधै मुद्दा दर्ता कार्य अस्वभाविक भएको प्रचण्डको भनाई छ । ‘पहिला ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाल दुवैको फल्ट छ भनेर धेरै चर्चा चलेपछि अख्तियारले नै एउटा डिसिजन गरेर सरकारलाई दस्ताबेज पठायो । प्रधानमन्त्री र क्याबिनेटले गरेको डिसिजनमाथि केही गर्नु हाम्रो क्षेत्राधिकारभित्र नपर्ने भएको हुनाले उहाँहरूको बारेमा केही गर्न सकिँदैन, जे गर्नुपर्ने हो क्याबिनेटले नै गरोस् भनेर लेखेर दिइयो,’ प्रचण्डले भने, ‘तर, क्षेत्राधिकारभित्र नपर्ने भनेर चिठी लेख्ने त्यही अख्तियारले अहिले कसरी पूर्वप्रधानमन्त्रीमाथि नै सिधै मुद्दा दर्ता गर्न पुग्यो भन्ने एउटा प्रश्न छ । यो लिगल, परम्परा र हाम्रो नीतिगत मान्यतासँग सम्बन्धित छ र स्वयं अख्तियारको न्यायसँग पनि सम्बन्धित यो गम्भीर प्रश्न भएकाले कहीँ न कहीँ प्रतिशोध साँध्नकै लागि जबर्जस्ती ठेलेर भए पनि गरौँ भन्ने नियतले काम गरेको देखिन्छ । जुन जताबाट हेर्दा पनि गलत छ ।’

देउवाले प्रचण्डलाई सोधे– माधवजीको मुद्दा कसरी दर्ता भयो ?
माओवादी अध्यक्ष प्रचण्डले आफूसँग बिहीबार भएको टेलिफोन कुराकानीमा देउवाले ‘माधवजीको मुद्दा के भएको, कसरी दर्ता भएको हो’ भनेर सोधेको बताएका छन् । ‘देउवाजीले हिजो(बिहीबार) फोन गरेर माधव नेपालमाथि मुद्दा दर्ता भयो, के भएको हो भनेर मलाई सोध्नुभो । सत्तापक्षको ठुलो पार्टीको नेताले प्रतिपक्षको नेतालाई के भएको हो माधवजीको मुद्दा, दर्ता कसरी भयो, भनेपछि म आश्चर्यमा परेँ । मैलेचाहिँ होइन, तपाईंलाई मैले सोध्नुपर्नेमा मलाई सोध्दा त ठट्टाजस्तो भयो भनेँ,’ प्रचण्डले शुक्रबार संसद् भवनबाहिर पत्रकारसित भने,‘जे होस् उहाँलाई थाहा नभएको बुझेँ मैले । दर्ता गर्ने वेलामा कांग्रेस सभापतिसँग सल्लाह गरिएको रहेनछ भन्ने नै बुझेँ मैले । किनभने कम्तीमा शेरबहादुरजी ढाँट्ने नेता होइन ।’