
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर– ५, बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु. तीन अर्ब ४२ करोड विनियोजन गरेको बताए।
मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
बागमतीलाई सफा र स्वच्छ बनाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतीसहित उपत्यकाका विष्णुमती, धोबीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको बताए। ‘नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ। तर, वृक्षरोपण गरेपछि रुख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन। रुख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,’ उनले भने।
कार्यक्रममा रु. ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा सहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए। कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्त्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको बताए।