
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजासमर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको धारणा व्यक्त गरेका छन् ।
कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुंगानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यहाँ आउने क्रममा आज जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पणी गरेका हुन् । देउवाले पूर्वराजासमर्थकले आन्दोलन गर्नु गणतन्त्रविरोधी गतिविधि भएकाले जनताको त्याग र संघर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उल्लेख गरे ।
सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका छन् । सभापति देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यसूची रहेको छ ।