
स्थानीय रैथाने बिउको संरक्षण र यान्त्रीकरणमार्फत कृषिमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाले पालिकाभित्रका धान पकेट क्षेत्रमा किसानहरूलाई कृषि उपकरण वितरण गरेको छ । बागमती प्रदेश सरकारको सहकार्यमा हेटौँडा– १७, हटियामा रहेको साना किसान कृषि सहकारी संस्थामार्फत उपमहानगरपालिकाले उपकरण वितरण गरेको हो ।
बुधबार नगर प्रमुख मीनकुमारी लामाको उपस्थितमा १३ लाख रुपैयाँको लागतमा खरिद गरिएका विभिन्न प्रकारका उपकरणहरू किसानलाई अनुदानमा प्रदान गरिएको छ । वितरण गरिएका सामग्रीमा १५५ वटा इलेक्ट्रिक स्प्रे, १६० वटा त्रिपाल, ६ वटा हाते ट्रयाक्टर, पाँचवटा कम्बाइन राइस मिल, १० वटा पानी तान्ने मोटर र दुईवटा डिजिटल काटा समावेश छन् ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख लामाले उपमहानगरले कृषिमा यान्त्रीकरणसहित उत्पादनसँग जोडिएका कार्यक्रमहरू अघि बढाएको बताइन् । ‘हामी नगरका विभिन्न क्षेत्रलाई पकेट क्षेत्रको रूपमा विकास गर्दै छौँ । ती क्षेत्रमा क्रियाशील कृषकलाई सहयोग पुर्याउने उद्देश्यले हामीले कृषिमा यान्त्रीकरणसहित उत्पादनसँग जोडिएका कार्यक्रमहरू अगाडि बढाउँदै छौँ,’ उनले भनिन्, ‘हेटौँडाबाट धेरै कृषि उपज अहिले देशका अन्य स्थानमा बिक्रीका लागि जाने गरेको छ । यसमा हाम्रो सयोगले थप टेवा पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’
धान पकेट कार्यक्रम चालू आर्थिक वर्ष र आगामी वर्ष ०८२/८३ सम्म सञ्चालन हुने प्रमुख लामाले जानकारी दिइन् । त्यसका लागि उक्त कार्यक्रमअन्तर्गत किसानहरूलाई धान खेतीसम्बन्धी दुईवटा तालिम प्रदान गरिसकिएको छ भने रैथाने धानको बिउसमेत वितरण गरिएको छ । साना किसान सहकारीका अनुसार हालसम्म ४ टन ‘मकवानपुरे छोटे’ र ३ टन ‘रामधान’ जातको बिउ वितरण गरिएको हो ।
कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष उद्धव सत्याल, वडासदस्य नवराज न्यौपाने, उपमहानगर आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि शाखा प्रमुख प्रदीप रेग्मीलगायतले नगरभित्र कृषियोग्य जमिनलाई मासेर बढिरहेको जग्गा प्लटिङ गर्ने प्रवृत्तिलाई पनि यसले निरुत्साहित गर्ने विश्वास व्यक्त गरे । हेटौँडा उपमहानगरपालिकाले वडा नम्बर १७ को चुच्चेखोलादेखि महादेव खोलासम्मको क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा अगाडि बढाउने योजना बनाएर काम थालेको छ ।