१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
मार्क लेभाइन
२o८२ जेठ २२ बिहीबार १o:५४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विऔपनिवेशीकरणका लडाकु थियोंगो 

Read Time : > 2 मिनेट
मार्क लेभाइन
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १o:५४:oo

थियोंगोका अनुसार साँचो अर्थमा विऔपनिवेशीकरण (डिकलनाइजेसन) तब मात्र सम्भव हुन्छ, जब जनताको चेतना विदेशी भाषाबाट मुक्त हुन्छ 

ङुग्गी वा थियोंगो नाच्न अत्यन्तै मन पराउँथे, सम्भवतः लेख्नभन्दा पनि बढी । ८० पार गरिसकेपछि र मिर्गाैलाको रोगले थलिँदा संगीतको केवल सम्झनाले नै उनी नाच्न थाल्थे । संगीत उनको खुट्टाबाट यसरी बग्थ्यो, जसरी शब्द उनका हातबाट पानामा झर्थे । म उनलाई सधैँ नाचिरहेको देखिने गरी सम्झनेछु । २८ मेमा ८७ वर्षको उमेरमा उनको निधन भयो । उनले गहिरो नवप्रवर्तन र मौलिक आलोचनाको यस्तो विरासत छाडे, जसले हामी लेखक, शिक्षक, अभियन्ता र साधारण नागरिकलाई उपनिवेशवादी जगविरुद्ध थप सजग र सशक्त हुन प्रेरणा दिन्छ ।

मेरा लागि उनी प्रेरणा थिए, जसले मलाई काकुमा शरणार्थी शिविरसम्म डोर्‍यायो, जहाँ भाषा र संस्कृति स्वतन्त्र रूपमा मिसिन्थे र मुटुबाट सोच्ने स्वतन्त्रता सम्भव हुन्थ्यो । थियोंगोका लागि यही लेखनको सबैभन्दा ठुलो वरदान थियो । पहिल्यै अफ्रिकी साहित्यको स्तम्भका रूपमा चिनिएका थियोंगो नोबेलका दाबेदार पनि भएका थिए । जब २००५ मा मैले उनलाई भेटेँ, उनको लेखन, शिक्षण र राजनीति एक–अर्काबाट छुट्टिने सक्दैनन् भन्ने बुझेको थिएँ । सधैँ हाँसिरहने थियोंगोको अनुहारले बाहिरी रूपमा खुसी देखाए पनि त्यो मुस्कानभित्र एक गहिरो आक्रोश लुकेको थियो, जुन बाल्यकालदेखि प्रौढसम्म भोगेका हिंसात्मक शासकीय संरचनाका घाउबाट जन्मिएको थियो ।

उनका श्रवणविहीन भाइलाई बेलायती सैनिकले चेकपोइन्टमा रोक्न दिएको आदेश नबुझेर अघि बढेपछि गोली हानेर हत्या गरेको थियो । यो हत्या र माउ–माउ विद्रोहको घटना, जसले उनका अरू दाइलाई उपनिवेशवादी शासनविरुद्ध खडा गराएको थियो, त्यसले थियोंगोको मानसपटलमा गहिरो छाप छाड्यो । यसले उनलाई हिंसा र विभाजन नै स्थायी उपनिवेशवादका दुई मूल इन्धन हुन्, जुन औपचारिक रूपमा स्वतन्त्रता प्राप्त भएपछि पनि निरन्तर क्रियाशील रहन्छ भन्ने बोध गरायो ।

यी घटना भएको आधा शताब्दीपछि पनि जब बेलायती शासनबाट केन्याली स्वशासनमा सत्तान्तरणको कुरा उठ्थ्यो, थियोंगो उपनिवेशवाद केवल बेलायतीको विदाइसँगै सकिएको होइन, बरु नयाँ केन्याली शासककै हातबाट अझ गहिरिएर जरा गाड्दै गएको छ भन्थे । एक लेखक र नाटककारका रूपमा अघि बढ्दै गर्दा उनी भाषालाई हतियार बनाउँदै बेलायती ‘सांस्कृतिक बम’ले मेटाएका अफ्रिकी पहिचान पुनः जोड्ने क्रान्तिकारी बौद्धिक बने । उनको पहिलो नाटक ‘द ब्ल्याक हर्मिट’ सन् १९६२ मा कम्पालामा मञ्चन भयो र त्यसपछि उनलाई ‘महादेशको आवाज’ का रूपमा चिनियो । र, सन् १९६४ मा आएको उपन्यास ‘विप नट चाइल्ड’ पूर्वी अफ्रिकी लेखकद्वारा अंग्रेजीमा लेखिएको पहिलो उपन्यास बन्यो । उनको ख्याति बढ्दै जाँदा अन्ततः थियोंगोले अंग्रेजी भाषा त्यागे र आफ्नै मातृभाषा गिकुयुमा लेख्ने निर्णय गरे । उनी साँचो मुक्ति मातृभाषामै सम्भव छ भन्ने विश्वास गर्थे ।

मातृभाषा गिकुयुमा फर्कनुले केवल थियोंगोको लेखकीय यात्रा मात्र नभई सम्पूर्ण जीवन नै परिवर्तित भयो । जब उनले अंग्रेजी वा राष्ट्रिय भाषा स्वाहिली नभई गिकुयुमै सत्ताको आलोचना गर्न थाले, केन्याली शासक आत्तिए । नतिजा सन् १९७७ मा उनलाई विनामुद्दा एक वर्ष जेल हालियो । जेलभित्र रहँदा र मातृभाषामा लेख्दै गर्दा उनले उपनिवेशवाद गइसकेको थिएन बरु नयाँ शासककै हातबाट नयाँ रूप लिइरहेको थियो भन्ने बोध गरेका थिए । यो ‘नवउपनिवेशवाद’ परम्परागत बुझाइभन्दा भिन्न थियो । उनका लागि नवउपनिवेशवाद भन्नुको अर्थ स्वतन्त्रता लागि लडेका र स्वतन्त्र भएका जोमो केन्याटाजस्ता नेताले आफ्नै जनतामाथि औपनिवेशिक प्रविधि र भाषामा शासन गर्नु थियो । त्यसैले, उनी साँचो अर्थमा विऔपनिवेशीकरण (डिकलनाइजेसन) तब मात्र सम्भव हुन्छ, जब जनताको चेतना विदेशी भाषाबाट मुक्त हुन्छ भन्थे । र, उनका लागि यो स्वतन्त्रताको पहिलो सर्त मातृभाषामा लेख्न पाउने अधिकार थियो ।

थियोंगोको नवउपनिवेशवादसम्बन्धी सोचले प्रायः मान्यता नपाए पनि यो मान्यता क्वामे एन्क्रुमाहजस्ता उपनिवेशविरोधी अफ्रिकी चिन्तकबाट गहिरो रूपमा प्रेरित थियो । उनको विचार आजका ‘विऔपनिवेशीकरण’ र ‘आदिवासी दृष्टिकोण’का प्राज्ञिक बहसभन्दा झन्डै एक पुस्ता अगाडि सोचिएको थियो । उपनिवेशपछिको चिन्तनको संस्थापक पुस्तामा एड्वर्ड सइद, होमी भाभा र गायत्री स्पिभाकसँगै थियोंगोलाई पनि राखिन्छ । उनी विशेषतः सइदसँग आत्मीयता राख्थे र उनलाई ‘भाइ’ मान्थे । दुवैका लागि उपनिवेशवाद कुनै बितेको इतिहास थिएन, अर्थात् उपनिवेशवाद आज पनि जिउँदो र हिंसात्मक रूपमा उपस्थित यथार्थ थियो । सइदका लागि त्यो इजरायली कब्जा थियो, थियोंगोका लागि आफ्नै मुलुकको नयाँ सत्ताले पुरानै औपनिवेशिक शैली दोहोर्‍याइरहेको थियो ।

थियोंगो र सइदको सम्बन्ध उनीहरू दुवै उपनिवेश शासनमा हुर्किएको साझापनमा आधारित थियो । थियोंगोका लागि सत्ताको दमनकारी प्रदर्शन उपनिवेशवादी संस्कृतिको मूल थियो र त्यसविरुद्ध बोल्ने पहिलो माध्यम भाषा नै थियो । सइदले अंग्रेजी र आफ्नो मातृभाषा अरबीबिचको तनावलाई ‘प्राथमिक अस्थिरता’ माने, जुन उनी प्यालेस्टाइन फर्किंदा मात्र शान्त हुन्थ्यो । थियोंगोका लागि गिकुयु भाषाले कल्पनाको नयाँ विश्वको सम्भावनाको ढोका खोलिदिन्थ्यो, अर्थात् जेलको झ्यालबाट स्वतन्त्रताको उडान भरिरहेकै चराजस्तो हुन्थ्यो । विडम्बना, जीवनका अन्तिम वर्षमा उनी आफ्नै घर फर्कन सकेनन् । तैपनि, अमेरिकाको क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीबाट उनले विद्यार्थी र नयाँ पुस्ताका लेखकलाई आफूले व्यहोरेका हरेक उत्पीडनविरुद्ध ‘डर नमानी लेख’ भन्ने आग्रह गरे । यदि तिमीले डरविना लेख्न सक्यौ भने त्यो चराले सधैँ उडान भर्नेछ, उनी भन्थे ।

(लेभाइन युसी इर्भाइनका इतिहासका प्राध्यापक एवं त्यहाँको वैश्विक मध्यपूर्व अध्ययन केन्द्रका निर्देशक हुन्) 
अल जजिराबाट

छुटाउनुभयो की ?