
देशभरिका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरू विराटनगरमा भेला हुने भएका छन् । २३ र २४ जेठमा हुने उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनका लागि उनीहरू विराटनगरमा भेला हुन लागेका हुन् ।
विराटनगर महानगरपालिकाको आयोजना र कोशी सरकारको सहयोगमा आयोजना हुने उपप्रमुख तथा उपाध्यक्षहरूको यो राष्ट्रिय भेला पहिलो हो । पालिका अध्यक्ष र प्रमुखहरूको भने यसअघि नै दुईपटक राष्ट्रिय भेला भइसकेको छ ।
राष्ट्रिय सम्मेलनमा देशभरबाट २९१ जना उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहने विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलाले संघीयता कार्यान्वयन, स्थानीय सरकार सञ्चालन र न्यायिक समितिको समस्या र चुनौतीबारे छलफल हुने विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । उपप्रमुख कार्कीका अनुसार सम्मेलनमा भएका छलफलपछिको निष्कर्षले आगामी कार्यकालका जनप्रतिनिधिलाई काम गर्न सहज बनाउने आपेक्षा छ ।
उक्त दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने योजना रहेको छ ।