
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणका लागि बजेट छुट्याउन माग गर्दै मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षण-पत्र बुझाइएको छ।
कमला पुल निर्माण संघर्ष समितिले बुधबार प्रादेशिक राजधानी जनकपुरधाममा मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादीलगायत १० राजनीतिक पार्टीका संसदीय दलका नेताहरूलाई ध्यानाकर्षण-पत्र बुझाएको हो। ध्यानाकर्षण पत्र बुझ्दै दलका नेताहरूले आगामी १ असारमा प्रदेश सरकारले ल्याउने बजेटमा कमला पुलका लागि बजेट छुट्याउन पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले बताए।
बजेट नछुट्याए आमरण अनशनमा बस्ने
संघर्ष समितिका सदस्यसमेत रहेका सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले पटक-पटक पुल पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारसहित विभिन्न दलका नेता, विभागीय मन्त्रीहरूले उधारो आश्वासन मात्र दिएकाले यसपटक बजेट नछुट्याए आमरण अनशनसहित आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘पूर्वप्रधानमन्त्रीहरू, विभागीय मन्त्रीहरू, संघीय सांसद्हरू आ–आफ्ना दलका नेता कार्यकर्ताहरूको जुलुससहित कमला पुल निरीक्षणको नाममा आएर फोटो खिचाउने र पहल गर्ने आश्वासनबाहेक केही गरेनन्,’ उनले भने, ‘यो पल्ट उधारो आश्वासनले मान्दैनौँ।’
प्राविधिक रूपले पनि कमलामा भासिएको पुलको पुनर्निर्माण नहुने दाबीसहित त्यसअघि कमलामा नयाँ पुल निर्माणको माग गर्दै संघर्ष समितिको आह्वानमा सिराहा र धनुषाका १० युवा मुख्यमन्त्री कार्यालयअगाडि (गत ४ भदौ)मा आमरण अनशन बसेका थिए। अनशन बसेको चौथो दिन ७ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग भएको चारबुँदे सम्झौताअनुसार कमलामा नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष ०८२-८३ को बजेटमा व्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने, त्यो सम्भव नभए सम्पूर्ण बजेट प्रदेश सरकारकै स्रोतबाट ब्यहोर्ने, १ मंसिर ०८१ भित्र निर्माणका लागि डिपिआर तयारी गर्न बोलपत्र आह्वान गर्ने उल्लेख भए पनि कुनै पनि काम नभएको समितिले जनाएको छ।
संघीय सरकारले आव ०८२/८३ को बजेटमा कमला पुलको नामसमेत नलिएकाले मधेश प्रदेश सरकारले पुल निर्माणको ग्यारेन्टी गर्नैपर्ने समितिको माग छ।
नदी वारपार गर्न जोखिम
पूर्व–पश्चिम हुलाकी सडकमा पर्ने सिराहा धनुषा जोड्ने कमला पुलको नदी नियन्त्रण र पहुँच मार्गबाहेक अन्तिम चरणको काम भइरहेका वेला १७ असार ०७८ मा बाढीले पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भाँसिएपछि पुल निर्माण रोकिएको थियो।
पछिल्लो पुसदेखि सुस्त गतिमा चलिरहेको पुनर्निर्माणको काम पनि चैतको तेस्रो सातादेखि ठप्प छ। कमलामा पुल नहुँदा दैनिक पाँच हजारभन्दा बढी सर्वसाधारण नदी वारपार गर्न बर्खामा डुंगा र हिउँदमा बाँस र प्लाई हालेर बनाइएको अस्थायी पुलबाट जोखिम मोल्न बाध्य छन्।
कमला नदीमा चार सय ६९ दशमलव दुई मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने भनिए पनि पटक–पटक थप हुँदै अन्तिम म्याद ३० असार ०८० तोकिएको थियो।
पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो। असार मसान्त ०८१ सम्म भाँसिएको पुलको पुनर्निर्माण सम्पन्न गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच २४ वैशाख ०८० मा सम्झौता भएको थियो।