
कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ। प्रतिवादी ३६ वर्षीय जगतराम थारूलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो।
थारूले बढैयाताल गाउँपालिका–९, जुक्तिनगरका २७ वर्षीय तिल्कु थारूलाई २ फागुन ०६७ मा कुटपिट गरी घाइते बनाएका थिए। घटनालगत्तै, घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। घाइतेको उपचारका क्रममा ४ फागुनमा मृत्यु भएको थियो। मृतकको परिवारले १५ फागुन ०६७ मा जाहेरी दिएका थिए।
थारूलाई प्रहरीले गेरुवा गाउँपालिका–५, पशुपतिनगरबाट सोमबार पक्राउ गरेको थियो। पक्राउ गरिएका प्रतिवादीलाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए।