१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘शुद्धि कार्य’मा खाना खाएका ११० जना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

रोल्पा नगरपालिका– ३, खुमेलमा शुद्धि कार्य (पुन्यतिथि)मा खाना खाएका ११० जना बिरामी परेका छन्। स्थानीय चौरपानीमा शुद्धि कार्यमा सहभागी भई खाना खाएका १५० जनामध्ये ११० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए। 

शनिबार बेलुकी उनीहरू एक्कासि बिरामी पर्न थालेपछि उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लगिएको थियो। अन्यको उपचार खुमेल स्वास्थ्यचौकीमै भए पनि १२ जनाको स्वास्थ्यमा भने गम्भीर समस्या देखिएको भन्दै राति जिल्ला अस्पताल रेउघा रेफर गरिएको थियो।

रेफर भई रोल्पा अस्पतालमा उपचाररत खुमेलका स्थानीय १५ वर्षीय बमबहादुर थापाले आफू राति १० बजे मात्र होसमा आएको बताए। ‘खाना खाएपछि बान्ता हुने, टाउको दुख्ने भयो, धेरै पेट दुखेपछि बेहोसै भएछु,’ थापाले भने, ‘अस्पतालमा भर्ना भएपछि बल्ल होसमा आएँ, खुमेलबाट एम्बुलेन्समा अस्पताल ल्याएको पनि थाहा पाइनँ।’

रोल्पा अस्पताल रेउघाका चिकित्सक डा. रिषभ गौतम नेतृत्वको टोलीले बिरामीको उपचार गरिरहेको छ। डा. गौतमका अनुसार अस्पतालमा भर्ना भएका सबैजसो बिरामीहरूमा बान्ता गर्ने, टाउको दुख्ने, पखाला लाग्ने समस्या देखिएको छ। खानामा खराबी (फुड पोइजन) भएका कारण बिरामी भएको उनको भनाइ छ। आइतबार दिउँसोसम्म अन्यलाई डिस्चार्ज गर्ने र बाँकी तीनजनाको थप उपचारका लागि अस्पतालमै राखिने उनले बताए। अहिले सबैको अवस्था सामान्य छ।

चौरपानीस्थित मृतक चित्रबहादुर रोकाको १३औँ पुन्यतिथिको अवसरमा खानपिनको आयोजना गरिएको थियो। दालभात, पुरी, तरकारी, आचार खाएका उनीहरूमा तत्कालै समस्या देखिएको स्थानीय नरेन्द्र घर्तीले जानकारी दिए।

छुटाउनुभयो की ?