१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 04 June, 2025
Invalid date format १२:५o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

किराँत समुदायको उदगमस्थल तुवाचुङ–जायजुममा बृहत् साकेलासिली प्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

किराँत समुदायको उदलगमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेलासिली प्रदर्शन गरिएको छ । किराँत समुदायको महान् चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किराँत ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेलासिली प्रदर्शन गरिएको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुलापूजा तथा बृहत् साकेलासिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुरलगायत विभिन्न जिल्लाका किराँत राई समुदाय भेला भएर सामूहिक रूपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गरेका बृहत् साकेलासिली प्रदर्शनीमा साकेलासिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिए । 

तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेलासिली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किराँत समुदायसँगै रहेको बताए । ‘नेपाली कांग्रेसले सधैँ द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरू समेटिएका छन्,’ उनले भने, ‘सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ । एक जातिले अर्को जाति तथा समुदायलाई सम्मान गर्न सकेको खण्डमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।’

नेता कोइरालाले किराँत समुदायको उदगमस्थल तुवाचुङ–जायजुमको प्रवर्द्धनमा आफ्नोतर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । ‘ऐतिहासिकस्थलको प्रवर्द्धन गर्दा त्यसको ऐतिहासिकतालाई मास्नुहुँदैन । तुवाचुङ–जायजुमको विकास गर्दा पनि भूगर्भविद्हरुको सुझाव लिनुपर्ने हुन्छ । यसमा मेरोतर्फबाट गर्नुपर्ने सहयोग जुनसुकै वेला पनि उपलब्ध हुन्छ,’ उनले भने, ‘तुवाचुङ–जायजुम रमणीयस्थलमा अवस्थित रहेछ । यसको स्तरोन्नति गर्न सकेमा पर्यटन प्रवर्द्धन हुन्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । मेरो व्यक्तिगततर्फबाट सकेको सहयोग गर्छु ।’

सामुद्रिक सतहदेखि करिब दुई हजार मिटर उचाइमा पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजित कार्यक्रममा किराँत राई समुदायको परम्परागत वेशभूषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको किराँत ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा प्राकृतिक रूपमा रहेका रैछाकुलेको ढुंगाको मूर्ति र तान बुन्ने ढुंगा देख्न सकिन्छ । 

किराँत ऐतिहासिकस्थल तुवाचुङ–जायजुमलाई संरक्षण गर्न १५१ रोपनी जग्गा गरिद गरेर पदमार्गसहित ढुंगाको पर्खालले घेराबारा हालिएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा ७२२ मिटर लामो पदमार्गसहितको पर्खाल लगाइएको हो । 

तुवाचुङ–जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि ०७४ मंसिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमासमेत स्थापना गरिएको छ । किराँत राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीनजना किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश–विदेशका किराँती र गैरकिराँती पर्यटकको भिड लाग्ने गरेको छ । 

तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायतका किराँत समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको सयवटा गन्तव्यअन्तर्गत मुन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराँती सभ्यताको अध्ययन तथा अवलाेकन गर्न आउनेको संख्या पनि बढ्दै गएको छ ।

किराँत राई समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलको रूपमा चिनिने तुवाचुङ–जायजुममा हरेक वर्षको वैशाख पूर्णिमा र मंसिर पूर्णिमाको अवसरमा एक–एकपटक चुलापूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर तीन चुलापूजा अर्थात् प्रकृतिको पूजा गरिएको हो । 

साकेला उँभौली ‘खेतीपाती सप्रियोस्, रोगव्याध नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाउँदै गोलो घेरामा साकेलासिली नाच्ने गरिन्छ । 

साकेला उँधौलीमा ‘अन्नबाली सप्रियोस्, रोगव्याध नलागाेस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिने साकेला उँधौली भने १५ दिनसम्म मनाउने गरिएको छ । 
 

छुटाउनुभयो की ?