
अविरल वर्षाका कारण अवरुद्ध कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६, फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले लोकमार्गको करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रूपमा खुलाएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। उक्त सडक निर्माणको लागि सडक विभागको एक र अन्य तीन गरी चारवटा स्काभेटर परिचालन गरिएको थियो।
शनिबार बिहान ५ बजेदेखि अवरुद्ध सडक १४ घण्टाको निरन्तर प्रयासपछि एकतर्फी रूपमा सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।
लेउती खोलाको धार फर्काएर अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनमा ल्याइएको छ। सडक एकतर्फी सञ्चालन भएसँगै दुवैतर्फ रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।