१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
पवन बराइली काठमाडाैं
२o८२ जेठ १७ शनिबार ११:१४:oo
Read Time : > 5 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

चलचित्र निर्देशक दीपेन्द्र के खनालको प्रश्न, अभिनेता खगेन्द्र लामिछानेको उत्तर

Read Time : > 5 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार ११:१४:oo

पहिलोपटक नाटक स्टेजमा अभिनय गर्दाका दिनलाई तपाईं कसरी सम्झनुहुन्छ ?
२६ वर्षअघि नाटकमार्फत मेरो कलायात्रा सुरु भएको थियो । फर्केर हेर्दा ती दिन निकै रोचक लाग्छ । अभिनय नसिक्दै त्यसवेला नाटकमा अभिनय गरेको थिएँ । नाटक के हो ? भन्ने पनि थाहा थिएन । सिनेमाबारे थाहा हुने त कुरै भएन । 

त्यतिवेला राष्ट्रिय नाचघरले पोखरामा पश्चिमाञ्चल क्षेत्रीय नाटक प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितमा मञ्चन भएको नाटकमा अभिनय गर्ने अवसर पाएको थिएँ । ‘गोलाद्र्धको कालो आकाश’ नाम थियो, जुन सरुभक्त दाइको लेखन र श्याम अर्यालले निर्देशन गरेका थिए । यसमा मेरो सूत्रधारको भूमिका थियो । नाटक तत्कालीन दीपेन्द्र सभा गृह (पोखरा सिटी हल) मा मञ्चन भएको थियो । नाटकमा काम गरेछि जीवनमा रंगमञ्चलाई नै पेसा बनाउँछु भन्ने लाग्यो । त्यसैले, त्यो दिन मेरो अभिनय यात्राका लागि महत्वपूर्ण छ । त्यसपछि अनुप सर(बराल)सँग नाटक पढ्न गएँ । मेरो कलायात्रा सुरु भयो । नाटक खेल्नुअघि कलाकारितामा लाग्छु होला भन्ने लागेकै थिएन । कलाकारिता रोजेकोमा कुनै पश्चात्ताप छैन । यसैले मेरो नाम स्थापित बनायो । यसैमा रमाइरहेको छु । 

लेखन र अभिनयसँगै निर्देशक र निर्माता पनि बन्नुभयो । यी चार विधामध्ये कुनमा बढी सन्तुष्टि पाउनुहुन्छ ?
मैले लेखनबाटै अभिनय यात्रा सुरु गरेको हुँ । अभिनय गर्नुअघि कथा लेख्थेँ । त्यसैले यी दुई विधा मेरा लागि महत्वपूर्ण छन् । ‘इन्जोय’ मानेर नाटक र सिनेमाको कथा लेखेँ । मलाई लेखनमा मजा आउँछ । अरू विधामा पनि मजा नआउने होइन, तर लेखनमा जति अरूमा हुँदैन ।

सिनेमाको कथालाई पुस्तकको रूपमा हातमा समात्दा मजा आउँछ । यसको सन्तुष्टि पनि बेग्लै हुन्छ । तर, पछिल्लो समय सिनेमा लेखन कम गरिरहेको छु । अहिले सिनेमा लेखनमा त्यति सन्तुष्ट हुँदैन । अभिनयमै आनन्द छ । सिनेमा हलमा आफ्नो अभिनय हेर्दा आनन्द अनुभूति हुन्छ ।

मैले निर्माताको रूपमा पनि काम गरेँ । निर्मातामा व्यवस्थापनको खुबी हुनुपर्छ । आर्थिक व्यवस्थापनबाहेक पनि थुप्रै व्यवस्थापन मिलाउन सक्नुपर्छ । राम्रोसँग गर्ने हो भने निर्माताको जिम्मेवारी पूरा गर्न निकै ठुलो दबाब हुन्छ । निर्माताले गर्ने काम गर्न सक्छु भन्नेचाहिँ लाग्छ । तर, निर्माताको काम मैले गर्ने होइन रहेछ भन्ने लाग्यो ।

मैले चलचित्र (पानी फोटो) निर्देशन पनि गरेँ । तर, निर्देशनको काम धेरै भारी लाग्यो । निर्देशन मैले गर्ने काम होइन रहेछ भन्ने लाग्यो । निर्देशक र निर्माताका रूपमा अब काम गर्दिनँ होला । 

तपाईंले निभाएको दुई पात्र ‘टुल्के’ (टलकजंग भर्सेस टुल्के) र ‘पशुपति प्रसाद’ (पशुपति प्रसाद) निकै चर्चित छन् । जुन तपाईंले आफैँले लेखेका पात्र पनि हुन् । यी दुईमध्ये कुनकोे आत्माको नजिक पुग्नुभयो ?
एउटा कलाकारलाई आफूले निभाएका सबै पात्र र भूमिका प्रिय लाग्छन् । तर, मेरा यी दुई पात्र दर्शकमाझ निकै प्रिय छन् । तर, मैले ‘टलकजंग भर्सेस टुल्के’को ‘टुल्के’ पात्र खेल्नका लागि ठुलो संघर्ष गरेको छु । सिनेमामा मनले खाएर उक्त पात्रबारे लेखेको थिएँ । सिनेमाको कथा चिनियाँ लेखक लु सुनको ‘द ट्रु स्टोरी आह क्यु’ आधार हो । यो कथा चिनियाँ सांस्कृतिक क्रान्तिको परिवेशमाथि लेखिएको छ । यो कथा पढ्दा नेपालको माओवादी जनयुद्धसँग मिल्दोजुल्दो जस्तो लाग्यो । कथाको ‘आह क्यु’ भन्ने पात्रसँग नजिक भएँ । उक्त पात्रबाट प्रभावित भएर नेपालीमा अनुवाद गरेर नाटक लेखेँ । यो नाटक कथा लेख्दा ‘टुल्के’ भन्ने पात्र आफैँले सोचेको थिएँ । नाटकलाई अनुप बराल दाइले निर्देशन गर्ने मुख्य भूमिका आफैँले खेल्ने योजना बन्यो । मैले नाटकका लागि दुई–चार अभ्यास पनि गरेँ । तर, पनि नाटकमा अभिनय गर्न पाइनँ । त्यसवेला मेरो जागिरमा नाम निस्कियो । अभिनयको आत्मा मारेर जागिर खानुपर्ने बाध्यता बन्यो । मलाई सिनेमाका हिसाबले ‘पशुपति प्रसाद’ मन पर्छ । तर, पात्र ‘टुल्के’ सधैँ प्रिय लाग्छ । 

‘टुल्के’ पात्रसँग तपाईंको कस्तो अन्तरसम्बन्ध छ ?
कलाकार भएपछि राम्रो क्यारेक्टर गर्न लोभ लाग्ने रहेछ । टुल्के क्यारेक्टर त्यस्तै थियो । तर, तत्कालीन समयमा मेरा लागि जागिर महत्वपूर्ण थियो । मैले नाटकमा अभिनय गर्न पाइनँ । पछि ‘टुल्के’ पात्र एक्लै गर्छु भन्ने लाग्यो । टुल्केको धित मार्नलाई नाटक पनि लेखेँ । तर, नाटक गर्ने आँट आएन । कथा लेख्दा सिनेमाका लागि सोचेको थिइनँ । तर, ‘वधशाला’ सिनेमामा अभिनय गरेपछि सिनेमाको स्क्रिप्ट लेख्ने आँट आयो । ‘वधशाला’मा अनुप बराल, दयाहाङ राई, सौगात मल्ललगायतसँग काम गरियो । जसले सिनेमाप्रति आकर्षण गर्‍यो । विचार मिल्ने साथीहरू भए सिनेमा बनाउन सकिने रहेछ भन्ने महसुस भयो । यसपछि स्क्रिप्ट लेखेँ ।

स्क्रिप्ट सकेर निर्देशक निश्चल बस्नेतलाई सुनाएँ । तर, उनले त्यो पात्र म गर्छु भन्दा मानेका थिएनन् । निश्चल हटकेट निर्देशक थिए । उनी बाघ भएर बसेका थिए । स्क्रिप्ट पढेपछि यो फिल्म आफैँ निर्देशन गर्न उनी तयार भए । तर, खेल्ने म आफैँ हो भन्दा छक्क परे । मलाई उनले यसअघि कुन फिल्ममा अभिनय गर्नुभएको छ ? भनेर सोधे । मैले नाटकमा अभियन गर्छु भनेँ । ‘वधशाला’ फिल्ममा पनि अभिनय गरेको छु भनेँ तर उनले पत्याएनन् । उनले अडिसन लिन्छु भने । अडिसनमा छानिएँ । टुल्के पात्र र मेरो लवज उस्तै छ । किनभने, भूगोल र भाषिक हिसाबले एउटै छ । त्यसैले मबाहेक अरूले यो चरित्रमाथि न्याय गर्न सक्दैनन् जस्तो लाग्यो ।

कुनै पात्रभित्र छिर्न र बाहिर निस्कन तपाईंलाई कति समय लाग्छ ?
कतिपयले सिनेमाको पात्रभित्र छिर्न र निस्कन यो गरेँ, त्यो गरेँ भनेको सुनिन्छ । हुन त पात्रभित्र छिर्ने र निस्कन कलाकारका आ–आफ्ना प्रक्रिया हुन्छन् होला । तर, म आफ्नो पात्रलाई धेरै जटिल रूपमा लिन्नँ । कुनै पनि सिनेमा गर्दै छु भने पात्रका लागि धेरै सोच्दिनँ । सुरुमा स्क्रिप्ट पढ्छु । नबुझेको कुरा निर्देशकलाई सोध्छु । मैले खेलेका सिनेमा आफैँले लेखेको हुनाले पात्रको गहिराइमा पुगिसकेको हुन्छु । कथा, पात्रको परिस्थिति थाहा भइसकेको हुन्छु । 

आफूले नलेखेको कथामा पनि पहिला राम्रोसँग बुझ्ने गर्छु । कथा के हो ? कथाले भन्न खोजेको के हो ? त्यसपछि मैले निभाउने पात्र को हो भनेर बुझ्छु । कतै मिस भएको छ भने पनि निर्देशकसँग छलफल गरेर पात्रको पृष्ठभूमिमा पुग्छु । 

सुरुमा पात्रलाई चिन्छु । त्यसको गहिराइसम्म पुग्छु । त्यसलाई राम्रोसँग चिनेपछि सम्बन्धित अरू चरित्र र तिनीहरूसँगको सम्बन्ध के हो भनेर बुझ्छु । आफ्नो चरित्रलाई डेफ्थमा बुझेपछि सम्बन्धित अरू चरित्रलाई चिन्छु । ती चरित्रसँग कस्तो व्यवहार गर्ने हो ? भनेर तयारी गर्छु । पात्रलाई यसरी केलाएपछि उसप्रति इमानदार हुन्छु । त्यसैले पात्रभित्र छिर्न समय लाग्दैन, निस्कन पनि समय लाग्दैन । कलाकार एउटै पात्रको धङधङीमा लामो समय बस्नुहुँदैन जस्तो लाग्छ । त्यसले पिरोल्छ । पात्रलाई गहिरोसँग बुझेपछि आत्मसात गर्ने हो । कतिपय पात्र छोटो समय पनि गरेको छु । कपितय पात्रका लागि निर्देशकलाई छोडिदिन्छु । तपाईंको क्यारेक्टर कस्तो हो त्यहीअनुसार गराउनुस् पनि भनेको छु । 

पुस्तकसँगै सिनेमाको स्क्रिप्ट पनि लेखिसक्नुभएको छ । लेखनमा पात्र, कथा वा परिवेश कुन विषय ध्यानमा राख्नुहुन्छ ?
कतिपयले लेखनमा कथा चाहिन्छ भनेको सुन्छु । तर, मेरो लेखन शैली अलि फरक छ । म पात्रलाई ध्यानमा राखेर लेख्छु । दिमागमा पात्र आएपछि मात्रै कथा बन्दै जान्छ । पात्र भएपछि कथा आफैँ बन्छ भन्नेमा विश्वास गर्छु । पात्र नभई कथा जन्मिँदैन जस्तो लाग्छ । हुन त लेख्ने आ–आफ्नै प्रक्रिया हुन्छ । कथामा पात्रले केका लागि संघर्ष गर्छ ? उसले के उद्देश्य प्राप्तिका लागि संघर्ष गर्छ ? यो महत्वपूर्ण हुन्छ । पात्र भएन भने कथा नै बन्दैन जस्तो लाग्छ । 

धेरैजसो आफैँले लेखेको सिनेमामा अभिनय गर्नुहुन्छ । आफैँले लेखेको स्क्रिप्टमा अभिनय गर्दा निर्देशकले बिगारिदिन्छन् कि भन्ने डर कत्तिको हुन्छ ?
मैले एउटा दृष्टिकोणबाट स्क्रिप्ट लेख्छु । आफ्नो धारणा बनाएर लेखेको हुन्छु । आफूले लेखेको कथा अर्काे मान्छे (निर्देशक)लाई देखाउँदा उसको दृष्टिकोण पनि आउँछ । त्यसैले ठिक छ–छैन भनेर हेरिन्छ । लेख्दा त म आफैँ सहमत भएर लेखेको हुन्छु । मैले लेखेको स्क्रिप्ट अर्काे मान्छेलाई पनि चित्त बुझ्नैपर्छ भन्ने हुँदैन । अर्काे दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ ? भनेर हेर्न सकिन्छ । त्यसैले मैले सुरुमा कथा लेख्दा निर्देशकसँग छलफल गरेर लेख्छु । स्क्रिप्टको ड्राफ्ट तयार भएपछि सम्पादन प्रक्रियामा पनि निर्देशकसँगै हुन्छु । मैले लेखेको नै हुनुपर्छ भन्ने भ्रमबाट मुक्त छु । त्यसैले निर्देशकसँग मतभेद आएको छैन । 

तर, ‘टलकजंग भर्सेस टुल्के’ का वेला निश्चल बस्नेतसँग एउटा सिनमा चाहिँ मैले प्रश्न गरेको थिएँ । स्क्रिप्ट लेख्दा मैले एक सटका लागि सोचेको थिएँ । तर, उनले सातवटा सट निकाले । मलाई त्यसवेला सट ब्रेक डाउन भन्ने पनि थाहा थिएन । मैले किन सातवटा सट निकालेको भनेर साधेँ । उनले मलाई सिनेमा नाटकजस्तो होइन भनेर जवाफ दिए । त्यसपछि प्रश्न गरिनँ । 

सिनेमा ‘पानी फोटो’ निर्देशन पनि गर्नुभयो । निर्देशनको काम धेरै भारी छ पनि भन्नुहुन्छ । कहिलेकाहीँ निर्देशनचाहिँ किन गरेछु भन्ने लाग्छ ?
सिनेमा निर्देशन गर्ने मेरो सोच नै थिएन । तर, कहिलकाहीँ कथाले तान्ने रहेछ । ‘पानी फोटो’ नाटकको कथा हो । मैले गुरुकुलमा नाटक मञ्चन गर्दा दर्शकहरू रुँदै निस्किएको देख्थेँ । त्यो नाटक हेर्न जनयुद्धमा बेपत्ता भएका परिवारका सदस्य पनि आएका थिए । नाटकका आफ्नै सीमितता छ । यसमा सीमित दर्शक हुन्छन् । त्यसैले फिल्म बनाउन मन लाग्यो । नाटक गर्दाको क्षण सम्झिएँ । त्यसैले पनि सिनेमा बनाउनुपर्छ भन्ने लाग्यो । 

यो सिनेमाको कथासँग मेरो मन जोडिएको थियो । त्यसैले जति नै घाटा भए पनि होस् तर सिनेमाचाहिँ बन्नुपर्छ भन्ने लाग्यो । यहीकारण आफैँले निर्देशन गर्ने सोच बनाएँ । यसअघि नै केही सिनेमामा काम गरिसकेकाले थोरबहुत आइडिया पनि थियो । पानी फोटो निर्माण गर्दा निर्देशन प्रक्रियाबारे पुस्तक पनि लेखिसकेको थिएँ । यसबाट प्राविधिक पक्षसमेत बुझेको थिएँ । सायद, सिनेमा बनाउनुअघि म फ्याट्टै मरेको भए पनि अर्काेले बनाउन सक्ने गरी तयारी गरेको थिएँ । त्यतिवेला कोरोना महामारीबिच सिनेमा निर्माण गरियो । हलमा प्रदर्शन गर्ने अवस्था थिएन । सरकारले दोस्रो लकडाउन घोषणा गर्‍यो । त्यतिवेला सयौँ मान्छे मरिरहेका थिए । भोलि आफू पनि मरिन्छ कि भन्ने डर लाग्यो । आफूले बनाएको सिनेमा हलमा नहेरी कसरी मर्ने ? भन्ने पनि लाग्यो । लकडाउनको अघिल्लो दिन हल बुक गरेर १० जनाले हेर्‍यौँ । अबचाहिँ कोरोनाले लगे पनि मेरो खड्को सकियो भन्ने लाग्यो । त्यसैले उक्त सिनेमा निर्देशन गरेकोमा पश्चात्ताप छैन । 

कलाकारितामा आउन चाहने नयाँ पुस्तालाई तपाईंको मूल मन्त्र के छ ?
सरकारी अफिसर बन्न १७ वर्षसम्म विद्यालय कलेज पढ्नुपर्ने रहेछ । यसपछि पनि लोकसेवा परीक्षा पास गर्न निकै मिहिनेत गर्नुपर्छ । समयको हिसाब गर्दा सरकारी अफिसर बन्न झन्डै २० वर्ष लाग्दो रहेछ । कलाकार बन्न पनि निरन्तरको लगाव र मिहिनेत चाहिन्छ । तीन महिनाको तालिमले मात्रै कलाकार बनिँदैन । यसका लागि साधना चाहिन्छ । आफूलाई बुझ्दै र कलाकारिताबारे बुझ्दै अघि बढ्नुपर्छ । कलाकारिता आफैँमा सिर्जनात्मक क्षेत्र हो । त्यसैले यो क्षेत्रमा थाक्ने छुट हुँदैन । यसमा अनवरत लागिरहनुपर्छ । यसमा कुनै समयको सीमितता हुँदैन । मिहिनेत गर्न छोड्नुहुँदैन ।