
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजन तथा पत्रकार महासंघ ललितपुरको समन्वयमा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परीक्षण, भिडियो एक्सरे, मुटु तथा मिर्गौला परीक्षण, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सिबिसी, स्त्री राेगलगायतका रोगको नि:शुल्क परीक्षण गरिएको थियो । शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई नि:शुल्क चश्मा वितरण गरिएको थियो ।
ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परीक्षण गरि लाभान्वित भएको बताए । परीक्षण गरेका पत्रकारहरूमध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको पाइएको छ ।
स्वास्थ्य परीक्षण गराएका ७७ जना पत्रकारमध्ये २७ जनामा सुगर र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिप साहले जानकारी दिए । पत्रकारहरू अरूलाई सूचना र खबरदारी गर्न दिनरात खटिरहँदा आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेको उनको भनाई छ ।
बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा. अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको उल्लेख गरे । जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूको लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाए ।