१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १७ शनिबार १o:४२:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

नेपाली फुटबलको स्वर्णकथा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १o:४२:oo

नेपाली फुटबलबारे लगातार कलम चलाउँदै आएका पत्रकार हुन्, हिमेशरत्न बज्राचार्य । उनले लेखेको पुस्तक हो, ‘स्वर्णकथा : नेपाली फुटबलको’ । नेपालले सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदकै फुटबलमा पनि स्वर्ण जितेको थियो । पुस्तक यसकै वरिपरि घुम्ने गर्छ । पुस्तकमा नेपाली फुटबलका धेरै ऐतिहासिक प्रसंग उल्लेख छन्, त्यसमध्ये केही त अविश्वसनीय एवं रमाइला पनि छन् । सोही पुस्तकको एक अंश यहाँ प्रस्तुत गरिएको छ ।

‘आवर किङ विल ह्याङ अस’
पाकिस्तानका संस्थापक नेता मोहम्मद अली जिन्हाको सम्मानमा प्रतियोगिता आयोजना भएको थियो, जसको नाम थियो– काइदे आजम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल । काइदे आजमको सीधा अर्थ हुन्छ, महान् नेता । नेपालले सन् १९८२ मा यसै प्रतियोगितामा सहभागिता जनाएको थियो । खेलहरू भएका थिए, कराँचीमा । त्यति वेलाका खेलाडीबाट सुन्न पाइने अधिकांश उडन्ते किस्सा यसै प्रतियोगिताका हुन् । प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलेको थियो र सात टिम सहभागी थिए ।

त्यसमा नेपालसँगै दुई पाकिस्तानी टिम थिए, त्यसयता इरान, चीनको स्याङडोङ, ओमान र बंगलादेश । नेपालले पहिलो खेल पाकिस्तानसँग खेलेको थियो, त्यसलाई गुमायो, २–० ले । नेपालले पाकिस्तान युथसँग दोस्रो खेल खेल्यो, नतिजा थियो– १–१ को बराबरी । कप्तान रुपकराज शर्माले पेनाल्टीबाट ९०औँ मिनेटमा गोल गरेका थिए । नेपाल र बंगलादेशबिचको खेल पनि १–१ को बराबरीमा टुंगियो । विदुर विष्टले ८६औँ मिनेटमा गोल गरेका थिए ।

लगत्तै नेपाल ओमानसँग १–० ले पराजित भयो । अब पालो थियो, त्यो ऐतिहासिक खेलको, जसमा नेपालले चीनको बलियो टिम स्याङडोङलाई हराएको थियो । गोल गर्ने खेलाडी थिए, गणेश थापा र गोल सम्भव भएको थियो, ७९औँ मिनेटमा । चिनियाँ खेलाडीले अफ–साइड ट्रयाप ओछ्याएका थिए, त्यसलाई नेपाली टिमले मज्जाले तोडे । यस्तोमा थापाले चिनियाँ गोलरक्षकविरुद्ध वान–भर्सेस–वानमा मिठो गोल गरे । उनले आफ्नो खेल जीवनमा धेरै गोल गरे । यो गोलको प्रसंग आउँदा अझै पनि उनको अनुहारमा खुसी देख्न पाइन्छ । उनी आफैँ पनि आफूले गरेका गोलमध्ये यसलाई उत्कृष्टमा मान्छन् । रमाइलो के भने स्याङडोङले यसअघि इरानसँग गोलरहित बराबरी खेलेको थियो । फेरि इरानले बंगलादेशमाथि ९–० को जित दर्ता गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालको अन्तिम खेल इरानसँग जुरेको थियो । त्यस खेलमा नेपालले चार गोल खायो । नेपाल अंक तालिकाको पुछारबाट दोस्रोमा थियो । होइन भने अन्तिम स्थानमा धकेलिन्थ्यो र बंगलादेशले नेपाललाई उछिन्ने निश्चित थियो । त्यति वेला नेपाली टिमको नेतृत्व गरेका थिए, गणेश थापाले । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष त थिए नै, फेरि नेपाल पाँचौँमा रहने कि छैटौँमा, यसका लागि गोलको समीकरण निकाल्ने काम पनि उनैले गरेका थिए ।

जे होस, खेल सुरु भयो । एकैजना पनि दर्शक थिएनन् । १५ मिनेटभित्र नेपालले चार गोल खायो । चौथो गोल हुँदा पनि व्यापक नाटक भएको थियो, नेपाली खेलाडीका तर्फबाट । तीन गोल खाएयता नेपाली खेलाडीले आफू–आफूमा अब सम्हालेर खेल्ने कुरा चलिरहेको थियो ।

यस्तोमा धीरेन्द्र प्रधानले पेनाल्टी एरियामा पछाडिबाट ट्याकल गरेर इरानी खेलाडीलाई लडाइहाले । रेफ्री थिए, पाकिस्तानका अनवर सुल्तान । उनी बुढा थिए । पटक्कै फिट थिएनन् । त्यसैले उनको निर्णयमा कुनै दम थिएन । उनले नेपालविरुद्ध पेनाल्टी त दिए, तर त्यसमा अविश्वसनीय रूपमा कायम हुन सकेनन् । खासमा इरानी खेलाडी पेनाल्टी प्रहार गर्न सुरेको मात्र हुन्थ्यो, नेपाली खेलाडी हान्न ठिक्क भएको बल चलाइहाल्थे । विशेषतः यो काममा अगाडि रहे, मानबहादुर मल्ल ।

अहिले जस्तो भए सबैका सबै नेपाली खेलाडीले रातो कार्ड खानुपथ्र्यो । यो क्रम चलिरह्यो, इरानी खेलाडी पेनाल्टी हान्न तयार हुन्थ्यो, नेपाली खेलाडीले व्यवधान तेस्र्याइहाल्थे । खेल आखिरमा अगाडि बढ्न सकेन नै । यस्तोमा इरानी खेलाडीले नयाँ उपाय निकाले, पेनाल्टीको स्थानमा फ्रिकिक प्रहार गर्ने । नेपाली खेलाडीलाई के चाहिएको थियो र ? तयार भइहाले । विचरा रेफ्रीले पनि त्यो प्रस्तावमा हो माथि हो थपे । यस्तोमा बल पाँच–६ यार्ड अगाडि लगियो र फ्रिकिकका लागि तयारी भयो ।

त्यतिवेला नेपालका तर्फबाट वालमा बसेका थिए, उनै मल्ल र अशोक केसी । पूरा टिममा सबैभन्दा छोटो कदका यिनै खेलाडी थिए, तर उनीहरूले नै वाल तयार पारे । नेपाली टिमका लागि यो हाँसोको विषय बनिरहेको थियो । केही खेलाडीले यो हाँसोलाई मैदानमा लुकाउनसमेत सकेनन् । यस्तोमा कप्तान शर्माले भनिहाले, ‘हेर्दै जानु, यो पनि गोल हुन्छ ।’ नभन्दै यस्तै भयो । इरानी खेलाडीले यस्तो फ्रिकिक प्रहार गरे कि नेपाली गोलरक्षक लोकबहादुर शाहीले कुनै अनुमान नै गर्न सकेनन् ।

जति वेला चाल पाए, बल पोस्टभित्र थियो । यसरी चौथो गोल पनि भयो । अब नेपाली खेलाडीसामु चुनौती तेर्सिएको थियो, पाँचौँ गोल रोक्ने । यसको उपाय पनि अरूसँग होइन, कप्तान शर्मासँगै थियो । उनले आफ्ना केही नजिकका साथी खेलाडीसँग कुरा चलाए र अंग्रेजीमा इरानी खेलाडीलाई व्याकरण नमिलाएर भने, ‘माइ फ्रेन्ड्, इफ मोर डेन फाइब गोल, वि ब्याक होम, आवर किङ विल ह्याङ अस ।’ अर्थात्, पाँचभन्दा बढी गोल खाएमा राजाले हामीलाई देश फर्केयता झुन्ड्याउनेछन् ।

कप्तान शर्माले आफ्नो हात घाँटीतर्फ लगेर त्यसलाई रेट्ने पनि संकेत दिए । इरानी खेलाडी त हेरेकोहेर्‍यै भए, पूरा का पूरा स्तब्ध पनि भए । उनीहरूले पनि आफू–आफूमा आफ्नो भाषाले कुराकानी गरे । उनीहरूले के–के कुरा गरे, नेपाली खेलाडीले बुझ्न सकेनन् । नेपाली खेलाडी इरानी भाषा कहाँ बुझ्थे र ? तर, त्यसयता खेलमा कुनै गोल भएन । नेपाल खालि चार गोलले मात्र पराजित भयो ।