
काठमाडौं महानगरपालिकाले दश वर्षपछि आगामी आइतबारदेखि बालाजु बाइसधारामा रहेको पौडीपोखरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवनरक्षक जनशक्तिसहित पौडीपोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिए ।
०७२ को भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनर्निर्माणका क्रममा रहेकाले सञ्चालनमा आउन सकेको थिएन । पौडीपोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौतासमेत गरिसकेको छ ।
आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीबिच सम्पन्न सम्झौताबमोजिम संघले एक वरिष्ठ जीव रक्षक, एक महिला अनिवार्यसहित तीनजना जीवनरक्षक तथा एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउनेछ ।