
लुम्बिनीमा शुक्रबारदेखि बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ। लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटनमा केन्द्रित रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको शिक्षा करुणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए।
उनले यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको बताए। लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारीसमेत दिए।
सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा–सुविधा आवश्यक रहने बताए। लुम्बिनीको विकासमा पर्यटन शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका उनले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने प्रस्ट पारे।
सूचना प्रविधिको उच्चतर प्रयोग गर्दै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारतीय पर्यटकको कार्यथलो हुने गरी सेवामूलक पूर्वाधारको आवश्यकता रहेको उनले बताए। ‘छिमेकी मुलुक भारतका आइटी कामदारहरूलाई लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसेर काम गर्ने वातावरण बनाउन सकिन्छ,’ उनले भने, ‘भरपर्दो विद्युत् र इन्टरनेट अनि बस्ने होटेल राम्रो भए धेरै पर्यटक आउन सक्छन्।’
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटक भित्र्याउन विश्वविद्यालयले प्रवर्द्धनात्मक कार्यक्रम बनाइरहेको बताए। त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए।
उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबिच समन्वय आवश्यक रहेको भन्दै सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए। लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले समग्र लुम्बिनीको पर्यटन विकासका लागि प्रदेश सरकारले प्राधिकरण स्थापना गर्ने नीति लिएको बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धानहरू सरकारका नीति योजनामा पर्ने गरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको औँल्याए। लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै प्रदेश सरकारसँग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको बताए।
दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसँग सम्बन्धित रहेर सातवटा कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलन सोमबार सम्पन्न हुने जनाइएको छ।