
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । होटल रोयल सिंगीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्द्धन गर्न यी दुवै संस्थाले आ–आफ्नाे दायराभित्र रहेर सहकार्य गर्दै आएको बताए ।
उनले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्ष–विपक्षबिचको सीमांकन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्त्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको भन्दै नेपाली खेल पत्रकारहरूको प्रशंसा गरे ।
यसैगरी, एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहमता र अदूरदर्शिताले नेपाली खेलकुदमा समस्या रहेको र खेलाडीको भविष्य अन्याेलमा परेको बताए। उनले आफूहरू सरकारविरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरूको हकहितका लागि काम गर्न र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा रहेकाे बताए ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था रहेकाे र यी दुई संस्थाको सहकार्यको शृंखला लामो भएको बताए। उनले नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्राष्ट्रिय मान्यताप्राप्त रहेकाे, ओलम्पिक कमिटीसँग सधैँ सहकार्य गर्दै आएको र विगतमा यस्तै समस्याले नेपालको अन्तर्राष्ट्रिय सहभागिता अन्याेलमा परेको वेला एनएसजेएफले पहलकदमी गरेको स्मरण गरे। अध्यक्ष अधिकारीले पत्रकारिताको स्वरूप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरूलाई अझ क्षमतावान बनाउन आफ्नाे प्रयास रहने बताए ।