१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
२o८२ जेठ १४ बुधबार ११:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलोमाथि व्यावसायिक टहरो बनाउँदै कांग्रेस नेता गिरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार ११:२४:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– ५, जबरजुपुर भएरै बग्ने गर्छ, बरुवागाउँले कुलो । त्यही कुलोमा अहिले बनिरहेका छन्, व्यावसायिक सटर । तल कुलो छ, त्यसमा वाल लगाएर माथि व्यावसायिक सटर निकालिँदै छ । त्यसरी कुलोमाथि व्यावसायिक सटर निकाल्ने व्यक्ति सामान्य नागरिक भने होइनन् । उनी तुलसीपुरका जमिनदारमध्येका एक व्यक्ति हुन् । त्यति मात्रै होइन, उनी पूर्वसांसद तथा कांग्रेसकै बहालवाला केन्द्रीय सदस्य गेहेन्द्र गिरी हुन् । तर, उनले एउटा सुकुम्बासी जसरी कुलोमाथि टहरा बनाइरहेका छन् ।

कुलोको दक्षिणतिर उनको घर र जग्गा छ । उत्तरतिर कुलो छ । त्यही कुलोको माथि उनले व्यावसायिक सटर निकाल्न अहिले निर्माणको काम गरिरहेका छन् । १० वटाभन्दा बढी सटर निकाल्ने गरी काम भइरहेको छ । ती सटर गोदामका लागि प्रयोग गर्ने गरी निर्माण थालिएको छ । ‘कुलोको माथि वाल उठाएर यसरी टहरा बनाउन लागिएको हो। मुनि कुलो बग्छ, माथि टहरा पनि प्रयोग हुन्छन्,’ उनले भने, ‘मान्छेले बाटाघाटा, खोला सबै जफत गरिसके, हामीले कुलो पनि संरक्षण हुने गरी माथि सटर निकाल्दै छौँ ।’ 

कुलोले वरिपरिको जग्गा कटान गरेकाले पनि तल तटबन्ध जस्तो पनि हुने र माथि व्यावसायिक सटरहरू हुने हुँदा दुवैतिर फाइदा हुने उनले बताए। जग्गाको विषयमा गिरी पटक–पटक विवादित हुँदै आएका छन् । यसअघि बजारभित्रकै जग्गा खाली राख्दा बजार विस्तारमा समस्या हुने गरेको भन्दै आलोचना पनि हुने गरेको थियो । घोराही रोडस्थित जग्गामा लामो समयदेखि मोहीको विवाद थियो। हाल त्यो जग्गामा मोहीको विवाद सल्टिएपछि प्लटिङ गरेर बिक्री गर्न थालिएको छ।

 गिरी पश्चिम दाङका पुराना नेता हुन् । उनी ०५४ मा तत्कालीन दाङ क्षेत्र नं. ४ बाट निर्वाचित सांसद पनि हुन्। त्यसयता भने उनी कुनै पनि लाभको पदमा गएका छैनन् । ०६४ र ०७० सालको निर्वाचनमा उनले भाग लिन पाएनन् । ०७४ सालको स्थानीय निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बने पनि एमाले नेता घनश्याम पाण्डेसँग पराजित भए । त्यसपछि उनी ०७९ सालको निर्वाचनमा पनि नगर प्रमुखकै उम्मेदवार बने । त्यसवेला पनि एमाले नेता टीकाराम खड्कासँगै हार व्यहोरेका थिए। 

बरुवागाउँले कुलो मासिने डर 
बरुवागाउँले कुलोको माथि सटर निकाल्ने गेहेन्द्र गिरी पहिलो व्यक्ति भने होइनन् । तुलसीपुरस्थित नाम चलेको एकान्त होटेलले समेत कुलोको माथि ठुला–ठुला भवन बनाइरहेको छ । यसरी सार्वजनिक सम्पत्तिलाई कसैले पनि हडप्न पाइँदैन ।खेतीयोग्य जमिन पनि बिस्तारै प्लटिङमा परिणत भएपछि यो कुलो हराउने हो कि भन्ने स्थानीयको चिन्ता रहेको छ । त्यो कुलो कुनै वेला २० मिटरभन्दा बढी थियो । तर, अहिले त्यो तीन–चार मिटर पनि छैन ।