
उपत्यकाका विभिन्न स्थानमा अवैध प्लटिङ बढेको भन्दै उपत्यका विकास प्राधिकरणले रोक लगाउन थालेको छ । स्थानीय तहका जनप्रतिनिधिसँगको मिलेमतोमा प्लटिङ भइरहेको पाइएपछि प्राधिकरणले रोक लगाएको हो। प्राधिकरणले ललितपुरको तीन स्थानमा भएको प्लटिङमा रोक लगाएको छ भने एक स्थानको छानबिन गरिरहेको छ। ‘हरिसिद्धिमा स्वीकृति नै नलिई प्लटिङ भएको पाइएपछि मालपोत, नापी र वडालाई पत्र लेखेर रोक्का गर्न भनेका छौँ,’ प्राधिकरणका ललितपुर आयुक्त तुलसीराम खर्बुजाले भने, ‘गोदावरीमा पनि दुई स्थानमा अवैध प्लटिङको सूचना पाएपछि रोक्न नगरपालिकालाई भनेका छौँ ।’
ललितपुरको महालक्ष्मी वडा नम्बर ४ मा ईश्वरलाल जोशीले अवैध प्लटिङ गरेको विषयमा पनि प्राधिकरणलगायत निकायमा स्थानीयले उजुरी गरेका छन् । सिट नम्बर १३०७०७ मा पर्ने करिब २० रोपनी जग्गामा कित्ताकाट भएको छ । स्थानीय मोहीलाई समेत असर गर्ने गरी अवैध रूपमा प्लटिङ गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय, ललितपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपत्यका विकास प्राधिकरणलगायत निकायमा उजुरी परेको हो । वडाध्यक्ष अमृत खत्रीदेखि यसमा मालपोत र नापीका कर्मचारीसम्मको मिलेमतोको आरोप लागेको छ ।
त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ काँक्राबारीमा पनि अवैध रूपमा प्लटिङ गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले रोक्न निर्देशन दिएको छ । विनास्वीकृति करिब ४५० रोपनी जग्गामा प्लटिङ गरिएको हो । भिरालो जमिन सम्याएर जोखिमपूर्ण रूपमा प्लटिङ गरेको खुलेपछि उपत्यका विकास प्राधिकरणले पनि छानबिन थालेको छ । सो प्लटिङमा वनको जग्गासमेत मिचेको आरोप लागेको छ ।
कीर्तिपुरको वडा नम्बर– ६ अमरमार्गमा अवैध प्लटिङमा नगरपालिकाले रोक लगाएको छ । अनुगमनका क्रममा स्वीकृति नलिई करिब सय रोपनी जग्गामा ल्यान्डपुलिङ गरेको पाइएपछि रोक लगाएर छानबिन भइरहेको नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले बताइन् । जग्गा प्लटिङ गर्दा सार्वजनिक बाटोसमेत भत्काएको विषयमा जरिवाना तिराउन लागिएको छ । तर, व्यवसायीले स्वीकृतिका लागि प्रक्रिया अघि बढाएका छैनन् ।
अवैध प्लटिङ रोक्ने काम स्थानीय तहको भए पनि पदाधिकारीकै मिलेमतोमा अवैध प्लटिङ बढेको उपत्यका विकास प्राधिकरणका अधिकारी बताउँछन् । प्रक्रिया पूरा गरेर प्लटिङ गर्दा पाँच प्रतिशत खाली क्षेत्र छाड्नुपर्नेलगायत नियम भएकाले नियम मिचेर धेरै नाफा कमाउन व्यवसायीले अवैध रूपमा प्लटिङ गरेका हुन् ।