
मृत्युले पनि जीवन दिन सक्छ ! सुन्दा वा पढ्दा असहज लाग्न सक्छ । तर, नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजोे एकै व्यक्तिमा सफल प्रत्यारोपणमार्फत सन्देश प्रवाह भएको छ– दुर्घटनामा गुमेको जीवन अरूका लागि पुनर्जन्मको माध्यम बन्न सक्छ ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो एकैपटक एउटै व्यक्तिमा प्रत्यारोपण पाउने ती ‘भाग्यमानी’ थिए– हेटौँडाका शिव महर्जन । एकैपटकमा मिर्गौला र कलेजो पाएपछि शिवले दोस्रो जीवन पाएका छन् । यो चिकित्सा विज्ञानको प्रगति त हो नै, समन्वय र मानवीय समर्पणको एउटा अद्भूत उदाहरण पनि हो ।
हेटौँडाका शिवले जब अस्पतालको शड्ढयामा आफूलाई मृत्यु र जीवनको दोसाँधमा भेटे, तब सोच्न थालिसकेका थिए– ‘अब मेरो यात्रा यत्तिमै अन्त्य हुने हो कि ?’ आठ वर्षदेखि अंग फेल भएर थलिएका शिव अन्तिम समयसम्म पनि जीवनको आशामा थिए । र, जीवनले उनलाई फेरि साथ दियो– एउटा दुःखद सडक दुर्घटनाबाट ।
१८ वर्षीय एक युवकको जीवन सडक दुर्घटनामा अस्तायो । मृत्युपछि उनले दुईजनालाई नयाँ जीवन दिए– दुई मिर्गौला र एक कलेजो दान गरेर । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मस्तिष्क मृत्यु भइसकेपछि उनको परिवारसँग समन्वय भएपछि अंगदान गर्न उनीहरू सहमत भए । जसबाट शिवले कलेजो र मिर्गौला पाए भने अर्की एक ४२ वर्षीया महिलाले अर्को मिर्गौला प्राप्त गरिन् ।
नौ दिनअघि प्रत्यारोपण भएको यो प्रक्रिया एकै दिनको कुरा थिएन । यी दुवै अंग राख्न चार दिन लामो तयारी, जटिल प्रक्रिया, अनगिन्ती परीक्षण र निरन्तर चिकित्सकीय निगरानीपछि मात्र सम्भव भएको थियो । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा १० भन्दा बढी विशेषज्ञ चिकित्सकको समर्पित टिमले असम्भवजस्तो देखिने कार्य सम्भव बनाएको हो । उनका अनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो ।
३१ जेठमा केन्द्रमै काम गर्ने डा. रोशन घिमिरेले केएमसीमा सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु भएका बिरामीको खबर केन्द्रमा कार्यकारी निर्देशक डा. श्रेष्ठलाई सुनाएका थिए । त्यसपछि डा. र केन्द्रको टिम केएमसीमा पुगेर मस्तिष्क मृत्यु भएका व्यक्तिका आफन्त, प्रहरी र अस्पताल प्रशासनसँग कुरा गर्यो । अंग चाहिने बिरामीको अवस्था सुनाउँदै मस्तिष्क मृत्यु भएका व्यक्तिका आफन्तलाई सम्झाइबुझाइ गरे । त्यसपछि अंग लिकालेर आइस प्याकमा राखियो । १ जेठमा लगातार १२ घण्टाको अन्तरमा मिर्गौला र कलेजो प्रत्यारोपण गरियो ।
डा. श्रेष्ठका अनुसार सबै प्रक्रिया असाध्यै संवेदनशील थिए । ‘यो शल्यक्रिया नेपालमा अहिलेसम्मकै सबैभन्दा जटिलमध्ये एक हो । सुरुदेखिको समन्वय, म्याचिङ, अंग झिक्ने प्रक्रिया र प्रत्यारोपण सबै चरण निकै संवेदनशील थिए,’ उनले सुनाए । उनका अनुसार कलेजो प्रत्यारोपणमा मात्रै आठ घण्टा लाग्यो भने मिर्गौला प्रत्यारोपणमा चार घण्टा । सँगसँगै चितवनकी फुलमाया नेपालीको पनि अर्को अपरेसन थिएटरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
शिव एक वर्षदेखि प्रत्यारोपण केन्द्रमै डायलाइसिस गराउँदै आइरहेका थिए । आफन्तबाट अंग पाउन नसकेका उनी दिनदिनै निराश हुँदै गएका थिए । ‘दुवै अंग फेल भइसकेको थियो, जति अस्पताल धाएँ, समाधान भेटिएन,’ उनले भिडियो कलमार्फत पत्रकार सम्मेलनमा भने, ‘तर, अन्ततः म बाँचेको छु, मलाई यो चमत्कार लागेको छ ।’
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ,
डा. रोशन घिमिरे, डा. प्रवीण महर्जन, डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्काको टिम यस कार्यमा खटिएको थियो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए । नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य सहभागी थिए ।
शिवको उपचारमा संलग्न चिकित्सकहरूले उनलाई केवल उपचार होइन, आशा पनि दिए । र, त्यो आशाले उनले पुनः जीवन पाएका छन् । शिव अस्पतालबाट छुट्ने तयारीमा छन्– नयाँ जीवन, नयाँ ऊर्जा र नयाँ आशासहित । शिव भन्छन्, ‘मेरो दोस्रो जीवन त ती युवकको परिवार र चिकित्सकहरूको उपहार हो ।’
डा. श्रेष्ठ अनुभव सुनाउँछन्, ‘यो अपरेसन गर्दा म चार रात सुतिनँ, किनभने सुरुवाती प्रक्रियादेखि अन्तिम प्रक्रियासम्म आफैँले हेर्नुपर्ने अवस्था थियो, म्याचिङको हिसाबले किड्नीमा कठिन हुन्छ, जहाँ पिआर, सिडिसी, ब्लडग्रुपलगायत सबै मिल्नुपर्छ, तर कलेजोमा ब्लडगु्रप मिले पुग्छ ।’ प्रत्यारोपित दुवै बिरामीको अवस्था सामान्य छ । उनीहरू डिस्चार्ज हुने तयारीमा रहेको अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
नेपालमा अंगदानको विषय अझै अल्पज्ञात छ । कानुनी प्रक्रिया जटिल छ र जनचेतना न्यून । डा. श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ प्रहरी वा अन्य निकायको डरले अंग झिक्न ढिलाइ हुन्छ । कानुनमै प्रहरी, अस्पताल र पोस्टमार्टम चिकित्सकको सहमति भए अंग झिक्न मिल्ने व्यवस्था छ । तर, व्यवहारमा जटिलता रहन्छ ।’
उनका अनुसार प्रत्यारोपणसम्बन्धी कानुनमा प्रहरी, अस्पताल, पोस्टमार्टम गर्ने चिकित्सक भए अंग निकाल्न सक्ने व्यवस्था छ । तर, कहिलेकाहीँ आपराधिक घटनाको प्रमाण नष्ट गर्ने डरमा प्रहरीले अंग निकाल्न दिँदैन । पछिल्लो समय स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा मस्तिष्क मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख र संलग्न अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग दिने निर्णय भएको छ । यसले यो काममा सकारात्मक सहयोग पुर्याएको छ ।
ब्रेनडेथ भएकाको आठ अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ
चिकित्सकका अनुसार ब्रेनडेथ भएका व्यक्तिबाट विभिन्न अंग निकालेर छोटो समयमै प्रत्यारोपण गरिसक्नुपर्छ । जसमध्ये मुटु चारदेखि पाँच घण्टाभित्र, फोक्सो चारदेखि आठ घण्टाभित्र, कलेजो र प्यांक्रियाज आठदेखि १२ घण्टाभित्र, मिर्गौला २० देखि ३६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । ब्रेनडेथ भएका एक व्यक्तिबाट मुटु, कलेजो, मिर्गौलालगायत आठवटा अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । छोटो अवधिमा परिवारका सदस्यको मन्जुरी लिएर अर्को व्यक्तिमा प्रत्यारोपण गरिसक्नुपर्ने भएकाले निकै समस्या हुने गरेको छ ।