
सुदूरपश्चिम विश्वविद्यालयको १७ करोड १६ लाखभन्दा बढी बजेट बेरुजु देखिएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा सुदूरपश्चिम विश्वविद्यालयको १७ करोड १६ ला २१ हजार रकम बेरुजु देखिएको हो ।
केही समयअघि महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनअनुरूप कञ्चनपुर भीमदत्त नगरपालिका महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालयले एक आर्थिक वर्षमा ठुलो रकम बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार ५७ लाख ५६ हजार रुपैयाँ असुल्नुपर्ने र १४ करोड ६८ लाख ३७ हजार नियमित बेरुजु देखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न योजनाको भुक्तानी कागजातविनै पनि गरेकोे देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ । विश्वविद्यालयले दुई करोड ४७ लाख ८४ हजार रुपैयाँविना कागज भुक्तानी गरिएको र सात लाख ८३ हजार रुपैयाँबराबर पेस्कीसमेत लगिएको पाइन्छ ।
यसरी शिक्षाजस्तो क्षेत्रमा ठुलो रकम बेरुजु देखिएपछि विश्वविद्यालयको क्षमता र सुशासन, आर्थिक पारदर्शितामा प्रश्न उब्जाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय स्रोतले प्राविधिक त्रुटि, कुनै योजनाकोे कागजात हराएको हुन सक्ने, अनि कुनै कर्मचारी, प्राध्यापकले रकम लिएर काम नगरेको हुन सक्ने हुँदा बेजुरी रकम बढेको, तिर्नुपर्नेदेखि विनाकागजातको समस्या आएको जनाएका छन् ।
विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि कतै नीतिगत भ्रष्टाचार त छैन भनेर विद्यार्थी, अभिभावकले चिन्ता व्यक्त गरेका छन्।