१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format २१:o४:oo
Read Time : > 1 मिनेट
समाचार

लुम्बिनीको नीति तथा कार्यक्रम पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o४:oo

लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैटाैँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले  निर्णयार्थ प्रस्तुत गरेपछि  पारित भएको थियो । सभामुखले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । प्रदेश सरकारले ५ जेठमा सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले आ–आफ्ना धारणा राखेका  थिए ।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । शनिबार बसेको छैटाैँ अधिवेशनको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने बताए।

उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधनस्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबिचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको पनि बताए ।

दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यले सुझावसहित धारणा व्यक्त गरेका थिए ।

आत्मनिर्भर प्रदेश बनाउन सरकार आत्मनिर्भर बन्नुपर्छः विपक्षी दलका नेता महरा
शनिबारको लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता जोखबहादुर महराले प्रदेश आत्मनिर्भर बन्न प्रदेश सरकार आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेश सरकार आत्मनिर्भर बन्न अनियमितता तथा राजस्व चुहावट रोक्नुपर्ने, करको दायरा बढाउनुपर्नमा जोड दिएका छन् ।

उनले सरकारले राजस्व संकलन वृद्धि गर्दै बजेट पनि बढाउनुपर्नेमा जोड दिए । विपक्षी दलका नेता महराले नीति तथा कार्यक्रम माथि छलफलका लागि समय कम भएको पनि टिप्पणी गरे । चैतमै प्रदेश सभा बैठक सुरु गरेको भए नीति तथा कार्यक्रमका लागि समय प्रशस्त हुन सक्नेमा त्यसो हुन नसकेको भन्दै बजेट राम्रो बनाउन सुझाव दिए । नीति कार्यक्रममा नारा राम्रा भएको, तर प्रदेश समृद्ध र प्रदेशवासी सुखी हुने खालको बजेट आउने र कार्यान्वयन हुनेमा आंशका व्यक्त गरे।