
पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपतका घटना घटेका छन्। ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार गएको मनसुनमा धेरै विपतजन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो।
प्रवक्ता थापाले १० महिनामा विपतका आठ हजार २८३ घटना घटेको बताए। ती घटनामा परेर एक हजार ५१८ घाइते भएका छन्। कुल ३२ परिवार विस्थापित भएको बताए।
ती विपतजन्य घटनाहरूमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
मनसुन प्रवेशको सँघारमा रहेकाले विपत् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ।
केन्द्रमा विपत् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपत् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ। जिल्लामा आवश्यकताका आधारमा विपत् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपत् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।