
त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन्। त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्रको फोहोर विवादका कारण व्यवस्थापन हुन नसकेको वेला जनप्रतिनिधिको टोली भ्रमणमा निस्किएका हुन्।
त्रियुगा नगरपालिकाले वडा नम्बर–१२ मा पर्ने त्रियुगा नदीकिनारको बिसनपुरको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दै आइरहेको थियो । केही दिनअघि मात्र त्यस क्षेत्रका स्थानीयले विरोध गरेपछि त्यहाँ रहेको डम्पिङ साइटमा फोहोर लैजान रोकिएको छ।
त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले विवादका कारण बजार क्षेत्रको फोहोर उठ्न नसकेको बताए। उनले भने, ‘बिसनपुरको डम्पिङ साइटमा फोहोर फ्याँक्न नदिएपछि नगरपालिका क्षेत्रका विभिन्न स्थानमा व्यवस्थापनको लागि सम्भावना खोजियो। तर, स्थानीयको विरोधका कारण दीर्घकालीन टुंगो लागेको छैन।
अब त्रियुगा नगरपालिका–५, दमौतीमा सम्भावना छ। त्यहाँका स्थानीयसँग कुरा गर्नेछौँ। जनप्रतिनिधिको टोली भ्रमणमा हुनुहुन्छ।’ उनले भ्रमणमा गएका जनप्रतिनिधिको टोली फर्केपछि दीर्घकालीन रूपमा फोहोरमैलाको व्यवस्थापन हुने बताए।
जनप्रतिनिधिमा नगरप्रमुख वसन्तकुमार बस्नेत, उपनगरप्रमुख महेश्वरी राई, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत केही कर्मचारीहरू गरेर २५ जनाको टोली केही दिनका लागि पश्चिम नेपालको भ्रमणमा आज शनिबार गाईघाटबाट हिँडेको उनले जानकारी दिए।
उनले भने, ‘जनप्रतिनिधिको भ्रमणटोली बुटवल उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकाको भ्रमण गरेर फर्कनेछ। त्यसपछि फोहोरमैला व्यवस्थापनको टुंगो लाग्नेछ।’ उक्त टोली एक हप्ताको भ्रमणमा गएको नगरपालिकाको भनाइ छ।
गाईघाट बजारबाट फोहोर उठ्न छाडेको भन्दै स्थानीयले विरोध गर्न थालेका छन् । गाईघाटकी तारा धमालाले गएको वैशाखबाट कहिले उठ्ने ? कहिले नगरपालिकाले फोहोर नउठाने गरेको भन्दै अहिले पाँचदिनदेखि ठप्प भएको बताइन । उनले भनिन्, ‘नगरपालिकाबाट फोहोर लिन आउन छाडिएको छ ।’ बजार क्षेत्रमा यत्रतत्र फोहोर देख्न पाइन्छ ।
त्रियुगा नगरपालिकाकी उपनगरप्रमुख महेश्वरी राईले आज (शनिबार) भएकाले फोहोर नउठाएको र भोली (आइतबार) देखि वडाहरुले आफैँ उठाउने सहमति भएको बताइन् । उनले वडाले बजार क्षेत्रबाट उठाएको फोहोर वडा आफैँले व्यवस्थापन गर्ने जानकारी पनि दिइन ।