१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ जेठ १० शनिबार १o:५३:oo
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

मिर्गाैला दिएर आमा बचाउने विजया

२२ वर्षको कलिलै उमेरमा दिएकी थिइन् आमालाई मिर्गौला

Read Time : > 5 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १o:५३:oo
  • करोडौँ मान्छे मुस्कुराएको देख्छु । तर, हजुरको मुस्कान सबैभन्दा प्यारो लाग्छ आमा । हजुरले दिएको यो मेरो सिंगो शरीरबाट हजुरलाई नै अंग (दायाँ मिर्गौला) दिएर बचाउन पाउँदा खुसी भएको दिन आज । अनि आफूलाई सौभाग्य ठानेको दिन ।’

विजया बिसी (अनिता)ले तीन महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो, यो । तीन महिनाअघि फेसबुकमा देखेको यो स्टाटसले उनलाई भेट्ने चाह बढ्यो । दश वर्षअघि भेटिएकी विजया र उनकी आमा सुनकुमारी विश्वकर्मालाई देख्ने इच्छा दिननिदै बढ्यो । भर्खर आमा भएकी विजयालाई केही महिना कुरेपछि बुधबार भेट भयो । उनी उस्तै थिइन् । दश वर्षे अवधिमा उनी साढे चार वर्ष र चार महिनाका दुई छोराकी आमा बनेकी थिइन् । 

म उनको घर पुग्दा एउटा छोरो विद्यालय गएको थियो । अर्को भर्खर निदाएको थियो । उनकी आमा थेरापीका लागि वसुन्धरा गएकी थिइन् । उनलाई भेट्नेबित्तिकै स्टाटस लेखेको दिनलाई कसरी सम्झनुहुन्छ भनेर सोधेँ । ‘समय कति चाँडै बित्यो । मैले यो समय कसरी कटाएँ होला भनेर लागिरहन्छ । के दश वर्ष बितिसकेको होला र !,’ उनी भावुक बनिन्, ‘यसबिच धेरै उथलपुथल भयो । तर, ममीलाई दश वर्षसम्म राम्ररी हेर्न पाएँ । देख्न पाएँ । ममीको माया, स्पर्शमा बाँच्न पाएँ । मैले मात्र होइन, परिवारले नै उहाँको माया पायो । त्यो जीवनको एउटा खुसी, हर्ष हेर्न पाएको दिनलाई सबैसँग बाँड्न पाएको दिन थियो ।’ आज उनीसँगै आमा स्वस्थ्य जीवन बाँचिरहेकी छिन् । 

आमालाई मिर्गौला दिँदा उनी भर्खर २२ वर्ष लागेकी थिइन् । उनको यो निर्णयलाई चिकित्सकले समेत विश्वास गर्न सकिरहेका थिएनन् । तर, उनले मिर्गौला फेरेर पनि पहिलेको जस्तै सामान्य अवस्थामा फर्किन सकिन्छ भन्ने चाल पाएपछि निर्णयप्रति अडिग रहिन् । ‘पिसिएल दोस्रो वर्ष पढ्दै गर्दा ममीको मिर्गौला फेल भनेर अस्पताल भर्ना गरियो । पढाइ सकेपछि ममीको उपचार म आफैँ गर्छु भनेर राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा तालिम लिएँ । त्यतिवेलासम्म मिर्गौला फेरेर ठिक हुन्छ भन्ने थाहै थिएन,’ विजयाले भनिन्, ‘तालिमपछि सुमेरु अस्पताल धापाखेलमा डाइलासिस वार्डमा काम गरेँ । त्यतिवेला अरू बिरामीसँगै ममीलाई सातामा तीनपटक सुई लगाउनुपथ्र्याे । डाइलासिस गर्नुपथ्र्याे । डाइलासिस गर्दाको त्यो पीडा मैले नजिकबाट देखेकी थिएँ । यस्तै दिन–प्रतिदिन ममीको स्वास्थ्य बिग्रिरहेको थियो । त्यसपछि यो समस्याबाट बचाउन डाइलासिसभन्दा अरू के उपाय छ भनेर डा. ऋषिकुमार काफ्लेसँग सल्लाह गरेँ । उहाँले मिर्गौला फेर्नुपर्छ भनेर सुझाउनुभयो ।’ 

डा. काफ्लेको सुझाबपछि उनले मनमनै निर्णय लिइन्, आमालाई मिर्गौला दिन्छु । किनभने १० वर्षे जनयुद्धताका तितरवितर भएको उनको परिवारको पुनर्मिलन भएको चार वर्ष मात्र भएको थियो । भर्खर कान्छी बहिनी जन्मिएकी थिइन् । मिर्गौला दिनका लागि आफन्त नै हुनुपथ्र्याे । त्यसैले यो सबै अवस्थालाई मध्यनजर गरेर मिर्गौला दिने मनस्थिति बनाएकी थिइन् । ‘सानी बहिनी जन्मेको सात महिनामै ममी बिरामी पर्नुभएको थियो । त्यो सानो बहिनीको माया लाग्यो । माइली बहिनीलाई मेरो जिम्मा लगाएर जनयुद्धमा होमिनुभएका कारण अरू दुई बहिनी र हामी सँगै हुन पाएका थिएनौँ । शान्ति सम्झौतापछि ०६४ सालमा मात्र हामीले अरू दुई बहिनी देख्न पाएका थियौँ । यो माहोललाई मध्यनजर गरेर जेठी छोरी भएको नाताले मैले मिर्गौला दिने निर्णय गरेकी थिएँ ।’

यस्तो मनसाय बनाएपछि उनले बुबा दलजित श्रीपाली (तत्कालीन युवा तथा खेलकुदमन्त्री)लाई सोधिन्, ‘उहाँले सुरुमा आनकानी गर्नुभयो, यस्तो निर्णय नगर भन्नुभयो, तर मैले धेरै सम्झाएँ, बुझाएँ । अन्ततः तिमीलाई आफ्नी आमाको सेवा गर्ने इच्छा नै हो भने मैले के भनम ।’ त्यसपछि बाँकी रह्यो, श्रीमान् र उनको परिवारको अनुमति । भर्खर विवाह भएकाले श्रीमान्को परिवारलाई सोध्न निकै गाह्रो भएको थियो । तर, अनुमति सजिलै पाइन् । उनले सोधेको वाक्य पूरा नहुँदै श्रीमान् र उनको परिवारबाट सकारात्मक जवाफ पाइन् ।

तर, मैले दिएको मिर्गौलाले राम्रो काम गरेन । आमाबुबाको सेवा गर्न पनि हामीलाई सोध्न पर्छ र ? भन्ने जवाफ पाएपछि उनलाई हर्षले नाचूँ झैँ लागेको उनले बताइन् । ‘ज्वाइँभन्दा माथि उहाँ मेरो घरको जेठो छोरो हो । उहाँले यति निर्णय नगरेको भए, आफ्नै परिवार बनाऔँ मात्र भनेको भए त धेरै गाह्रो हुन्थ्यो । बुबाले मात्र के गर्न सक्नुहुन्थ्यो र ?,’ ती दिनलाई सम्झेर उनले गहभरि आँसु बनाइन् । 

सबै प्रक्रिया पूरा गरेपछि मिर्गौला दिने दिन (२० माघ) आयो । शिक्षण अस्पताल महाराजगन्जमा बिहान विजयाले आमालाई मिर्गौला दिइन् । उनले त्यो दिन सम्झिइन्– अप्रेसन गर्न थियटर लैजानुअघि केही प्रश्न डाक्टरले सोधे । त्यसको जवाफ विनाहिच्किचाहट दिएँ ।

डाक्टर : नाम के हो ?

विजया : मेरो नाम विजया बिसी हो ।

डाक्टर : सानै छौ । आमालाई मिर्गौला दिने यस्तो निर्णय किन गर्‍यौ ?

विजया : ममीले मलाई जन्म दिनुभयो । मैले आफ्नो एउटा अंग दिनलाई के नै भयो र ! मैले आफ्नो कर्तव्य पूरा गरेको हुँ । आफूलाई सौभाग्य ठानेकी छु । त्यतिभन्दा भन्दै बेहोस भएछु ।

यो वार्तालापको २४ घण्टापछि अर्थात् २१ माघमा मात्र उनले आमालाई भेटकी थिइन् । ‘शारीरिक रूपमा निकै पीडा भइरहेको थियो, पानी पानी... भनेर कराइरहेकी थिएँ रे ! त्योभन्दा पीडा त ममीलाई कहिले देख्न पाउँछु भनेर भइरहेको थियो । होस् अनि बेहोस दुवैमा ममीलाई नै सम्झिरहेको थिएँ । जब ममीलाई देखेँ, तब संसार जितेजस्तै भयो । अप्रसेन गरेकाले आलो घाउ उत्तिकै दुखिरहेको थियो । तर, ममीको अप्रेसन सफल भएको सुन्दा सबै पीडा गायब भयो,’ उनले भनिन् । 

विगत सम्झिँदै गर्दा एक्कासि उनको अनुहारमा उदासीपन छायो । ‘अप्रेसन सफल त भयो तर त्यो खुसी धेरै दिन टिक्न सकेन । चार दिनमा घर आएँ खुसी छाउँदै थियो, लाग्थ्यो यस्तो खालको सुख पनि अनुभव गर्न पाइदो रहेछ । तर, फेरि हामीमाथि कालो बादल मडारिँदै आइपुग्यो । ममीलाई मैले दिएको मिर्गौलाले काम गर्न छोड्यो,’ त्यो दिन सम्झदै उनले भनिन् । आलै घाउ बोकेर अस्पताल दगुरिन्, आमा बचाउन कुनै कसर नराख्ने साहास बोकेर । अस्पतालमा आमाको अवस्था देखेर आफूसँग भएको अर्को मिर्गौला दिएर भए पनि बचाउनुपर्छ भन्ने सोच आएको बताइन् । 

‘माछालाई पानीविना राख्दा जस्तो हुन्छ, ममीलाई त्यस्तै भएको थियो । पानीविनाको माछाजस्तो गरी छट्पटाइरहनुभएको थियो । उहाँलाई गाह्रो भएको देखेर आफ्ना सबै पीडा भागिसकेको थियो । ममी चाहिँ बाँच्नु पर्‍यो । यो मिर्गौलाले काम गरेको छैन भने मेरो अर्को मिर्गौला पनि छ । त्यो निकालेर दिनू तर ममीलाई बचाइदिनू भनेँ,’ त्यो दिन उनको यस्तो कुरा सुनेर डा. दिव्या सिंह केही बोल्न सकिनन् । मात्र उनलाई नआत्तिन भनिरहिन् । बिस्तारै उनको आमाको स्वास्थ्यमा सुधार आउन थाल्यो । ७० दिनसम्म आइसियुमा बसेर उनकी आमा घर फर्किइन् । उनले दिएको मिर्गौलाले २० प्रतिशत मात्र काम गर्‍यो । त्यसपछिका दिनमा गाह्रो हुनेबित्तिकै डाइलासिस गर्नुपर्ने अवस्था भयो । आमालाई मिर्गौला दिएको चार महिनामै उनले अस्पतालको ड्युटी सुरु गरिन् । 

आमाछोरी नै बाँचिरहेका छन् स्वस्थ जीवन
विजयाले दिएको मिर्गौलाले आमाले सात वर्ष बिताइन् । सात वर्षपछि भने त्यो मिर्गौलाले काम गर्न छाड्यो । ती दिन पनि विजयाका लागि निकै कष्टकर भयो । तर, साढे तीन वर्षअघि उनको ठुलोममीले बहिनीका लागि फेरि मिर्गौला दिइन् । त्यो मिर्गौलाले अहिले उनको परिवारमा खुसी छाएको छ । उनकी आमा सामान्य मानिससरह जीवन बिताउन सक्ने भएकी छिन् । ‘ममीलाई सात वर्षसम्म निरन्तर डाइलासिस गर्‍यौँ । त्यसपछि धेरै ठाउँ गयौँ । ममीलाई झन् गाह्रो हुँदै गयो । फेरि मिर्गौला फेर्नैपर्ने भयो । अनि, ठुलोममीले उसलाई राम्रो हुन्छ भने म दिन्छु भन्नुभयो । उहाँले मिर्गौला दिएपछि धेरै राम्रो हुनुहुन्छ । रेगुलर औषधि खानुपर्नेबाहेक सामान्य मानिसजस्तै हुनुभएको छ,’ आमाको दोस्रोपटक भएको पुनर्जन्मलाई उनले यसरी विस्तार लगाइन् ।

कुराकानी भइरहँदा उनको चार महिनाको छोराको निद्रा खुलिसकेको थियो । ‘ममीलाई मिर्गौला दिएपछिको मेरो दोस्रो उपहार,’ उनले छोरा देखाउँदै उपहार देखाइन् । खुसी बाँडिन् । अहिले उनको आमा त स्वस्थ्य जीवन बाँचिरहेकी छिन् नै, आफू पनि फुर्तिली छिन् । आमालाई मिर्गौला दिएपछि आफूलाई पहिलेभन्दा फुर्तिलो भएको अनुभव गरेकी छिन् । ‘एउटा मात्र मिर्गौला हुँदा समस्या आउँछ, गाह्रो हुन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यस्तो समस्या मलाई आएको छैन,’ उनले भनिन्, ‘दुइटा मिर्गौला हुँदा र एउटाले गर्ने काम एकै हो । केही अफ्ठ्यारो पार्दैन । म आफैँ पनि ठिक छु । ममीलाई मिर्गौला दिएपछि अस्पताल नै गएर बस्ने  गरी कुनै समस्या आएको छैन ।’ वेलावेला उनले मिर्गौला भने चेकजाँच गर्ने गरेकी छिन् । मिर्गौलाको अवस्था सामान्य मान्छेको जस्तै रहेको रिपोर्ट आउने गरेको उनको भनाइ छ ।

मैले सोधेँ, ‘यो दश वर्षलाई फर्केर हेर्दा कस्तो लाग्छ ?’

‘ममीलाई मिर्गौला दिएर १० वर्षदेखि ममीसँगै हुन पाएँ । परिवारसँग बस्न पाएँ । आमा, माया र जीवनको अर्थ बुझेँ,’ उनले जवाफ दिइन् ।

यति मात्र होइन, उनले आमा भनेर पुकार्नु र आमा बन्नुमा फरक पाइन् । आफ्नी आमाजस्तै बिरामी बनेकाहरूको सेवा गर्ने अठोट लिन सक्ने बनिन् । अहिले ग्रान्डी सिटी अस्पताल उनको दोस्रो घर भएको छ । त्यहाँका बिरामी दोस्रो परिवारका सदस्य भएका छन् । ‘पहिलेदेखि नै मेरो इच्छा बिरामीको सेवा गर्छु भन्ने थियो । ममी बिरामी भएपछि मिर्गौलाका बिरामीकै सेवा गर्ने चाहना बढ्यो । त्यसैले परिवारलाई जस्तो व्यवहार गर्छु, बिरामीलाई त्यस्तै व्यवहार गर्छु । अस्पताल मेरो दोस्रो घर र बिरामी मेरो दोस्रो परिवार हो,’ उनले भनिन्, ‘मैले उनीहरूको अलि राम्रो हेरचाह गर्न सकें भने बिरामीलाई थप राहत मिल्छ कि भन्ने लाग्छ । उनीहरू उपचार गर्न आउँदा खुसीसाथ आउन सकून् भन्ने लाग्छ । बिरामीसँगै भिजिटरको माया उत्तिकै लाग्छ । बिरामीको स्वास्थ्यसँगै पैसाको चिन्तामा बसेकाहरूको उत्तिकै माया लाग्छ ।’

कुराकानी चलिरहँदा उनकी आमा पनि थेरापीबाट आइसकेकी थिइन् । हामीले तपाईंलाई कस्तो छ भनेर उही प्रश्न गर्यौं । ‘अहिले ठिकठाकै छु । गर्दननिरको नसा च्यापिएकाले थेरापी गएको थिएँ । दश वर्षअघि तपाईँले देख्नुभएको भन्दा झन् हट्टाकट्टा भएको छु । बिहान, बेलुका घरको कामसमेत गर्छु । सामान्य मान्छेको जस्तै जीवन जिउन पाएको छु,’ मन्द मुस्कानमा उनले भनिन् ।