
उदयपुरको त्रियुगा नगरपालिकाभित्र गाईघाट टाउन प्लानिङमा गुणस्तरीय काम गरी समयमै सम्पन्न गर्न नगरप्रमुख बसन्तकुमार बस्नेतले चेतावनी दिएका छन् । त्रियुगा नगरपालिकाभित्रको १४.६४६ किलोमिटर सडक कालोपत्रेका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध गरिरहेको वेला नगरप्रमुख बस्नेतले शुक्रबार नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरी ठेकेदार पक्षलाई यस्तो चेतावनी दिएका हुन् ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा त्रियुगा नगरपालिकाभित्र शहरी सडकको स्तरउन्नतीको काम भइरहेको छ । उक्त काम गुणस्तरीय नभएको भन्दै अहिले चौतर्फि विरोध भएको छ । त्यही विरोधको प्रश्नको उत्तर दिँदै बस्नेतले ठेक्का सम्झौताको मितिमै सक्नुपर्ने र गुणस्तरीय नभए कानुनी उपचार खोज्ने बताए । उनले भने, ‘ठेक्का सम्झौता भएको मितिले सम्पन्न हुनुपर्ने मितिमै सकिनुपर्छ। गुणस्तरीय हुनुपर्छ । समयअवधिमै नसकिए निर्माण गर्ने समय थप्ने म्याद थपिनु हुँदैन । नभए कानुनी उपचारको विधिबाट ठेकेदार कम्पनीलाई क्षतिपुर्ति तिराउँछौँ । नगरपालिकाको चेतावनी हो ।’
त्रियुगा नगरपालिका–१०, ११, १२ र १३ वडामा पर्ने गाईघाट बजारभित्रका १४.६४६ किलोमिटर सडक, नाली लगायतको निर्माणको कामको लागि भ्याट, पिएससहित ६६ करोड ११ हजार १४०.२७ रुपैयाँमा आशिष आशिर्वाद स्वामी नारायण जेभी त्रियुगा उदयपुरसँग गएको २०८० चैत्र ३० गते २०८२ असार ३ गते सम्पन्न गर्ने गरी ठेक्का लिएर काम गरिरहेको छ । अब निर्माण गर्नु पर्ने काम २३ दिन बाँकी रहेको छ।
उक्त आयोजनाको कामको भौतिक प्रगति ७५ प्रतिशत रहेको र हालसम्म ३२ करोड ७३ लाख ४९ हजार १०१.६५ रुपैयाँमा भुक्तानी भइसकेको त्रियुगा नगरपालिका प्रवक्ता तिलक कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनलाई निर्धारित समयमा निर्धारित गुणस्तर मापदण्ड अनुरुप सम्पन्न गराउन नगरपालिका प्रतिवद्ध रहेको छ। निर्माण कार्यको प्रगति र गुणस्तरको सम्बन्धमा विभिन्न पक्षबाट राखिएको चासोप्रति नगरपालिकाको ध्यान आर्कषण भएको छ ।’
पत्रकार सम्मेलनमा आशिष आशिर्वाद स्वामी नारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादवले आयोजना डिजाईन तथा सुपरीवेक्षण गर्ने बोटेक गोइक जेभी काठमाडौंको परामर्शमा गुणस्तर नापजाँच गरेर काम भएको बताए । उनले भने, ‘समयमै काम सम्पन्न र गुणस्तरीय छ । हामी रात दिन काम गरिरहेका छौँ ।’ यता आयोजना डिजाईन तथा सुपरीवेक्षण गर्ने बोटेक गोइक जेभी काठमाडौंका इन्जिनियर अमरदीप यादवले पनि समयमै सक्ने गरी गुणस्तरहीन भएको ठाउँमा ल्याव परीक्षण गरेर काम गरिरहेको जानकारी दिए ।
तर, पत्रकार सम्मेलनमै रहेका त्रियुगा नगरपालिका–११ का वडाअध्यक्ष सुमन्त कोइरालाले समयमै काम सम्पन्न हुन नसक्ने र गणस्तरहीन काम भइरहेको आरोप लगाए । उनले भने, ‘निर्माण सामग्रीको ल्याव टेस्ट रिर्पोट छैन । धेरै काम बाँकी देखिन्छ । समयमै सक्न गाह्रो छ ।’ भौतिक प्रगति ७५ प्रतिशत देखिए पनि हाल निर्माण क्षेत्रमा त्यस्तो नदेखिएको र गुणस्तरहीन काम भएको अन्य निर्माण व्यवसायीले लगाइरहेकाले नगरपालिकाका जनप्रतिनिधिलाई सचेत हुन पत्रकार कौशल चेमजोङले सुझाव दिएका थिए। उनले भने, ‘हामी प्राविधिक कुरा जान्दैनौँ । तर, निर्माण व्यवसायमा आवद्ध गाईघाटका नागरिकले प्रश्न उठाइरहेका छन् । त्यो किन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सचेत हुनुपर्छ ।’
उक्त आयोजनाको समाजिक संजालमा विरोध गर्दै आएका नेपाल निर्माण व्यवसायी जिल्ला संघ उदयपुरका महासचिव सुदिप दाहाल खत्रीले अहिले त्रियुगा नगरपालिका क्षेत्र टाउन प्लालिङमा भइरहेको काममा गुणस्तरी निर्माण सामग्रीको प्रयोग नभएको र प्राविधिक ज्ञानको अभामा मनमरी गरेका देखेर विरोध गरेको बताए । उनले भने, ‘असफाल्ट क्रंक्रिट सडक निर्माण गर्ने भनिएको छ । तर, त्यस्तो गरी निर्माण सामग्री प्रयोग गरेको देखिन । म गाईघाट बासी भएकाले राम्रो होस भनेर विरोध गरेको हुँ । नत्र निर्माण व्यवसायीको विरोध गर्न जरुरी छैन । काम भएको ठाउँमा नगरपालिकाको प्राविधिक पनि देखिन । अब कमजोरी स्विकार गरेर नगरपालिकाले राम्रो गरी काम गर्ने गरी तयारी गरोस ।’