
क्याप्टेन इब्राहिम ट्राओरे बुर्किना फासोका अन्तरिम नेता हुन्, जसले सेप्टेम्बर २०२२ मा लेफ्टिनेन्ट कर्नेल पल हेनरी दामिबालाई हटाएर देशको नेतृत्व गरिरहेका छन् । सोही वर्ष जनवरीमा पूर्वराष्ट्रपति रोक मार्क काबोरेविरुद्ध लेफ्टिनेन्ट कर्नेल दामिबाले गरेको कूमा ३७ वर्षीय ट्राओरेले दामिलालाई सघाएका थिए । तर, दुईबिचको सहकार्य आठ महिनामै टुंगियो ।
ट्राओरे सत्तामा आएदेखि, बुर्किना फासोले तीन पश्चिम अफ्रिकी राज्यहरूलाई क्षेत्रीय निकाय इकोवासबाट बाहिरिन प्रमुख भूमिका खेल्यो । इकोवासबाट बाहिरिएपछि बुर्किना फासो, नाइजर र मालीले विकल्प ‘अलायन्स अफ साहेल स्टेट’ गठन गरेका छन् । आखिर को हुन् इब्राहिम ट्राओरे ? सन् १९८८ मा बुर्किना फासोको एक सानो सहर बोन्डोकुईमा जन्मिएका ट्राओरेले नजिकै रहेको देशको दोस्रो ठुलो सहर बोबो डिओलासोमा माध्यमिक विद्यालय पूरा गरे । त्यसपछि देशको राजधानी बागादुगु सरेका ट्राओरेले त्यहीँ विश्वविद्यालय अध्ययन पूरा गरे ।
स्नातक तह पूरा गरेपछि सन् २०१० मा २२ वर्षको उमेरमा उनी सेनामा भर्ती भए । बुर्किनाबे सेनाको अफिसर स्कुल जर्जेस नामोआनो मिलिटरी एकेडेमीमा आफ्नो अफिसर तालिम लिएर उनले सन् २०१२ मा सेकेन्ड लेफ्टिनेन्ट बने । सन् २०१४ मा लेफ्टिनेन्टमा पदोन्नति भएपछि युनाइटेड नेसन्स मल्टिडाईमेन्सनल इन्टिग्रेटेड स्टबलाइजेसन मिसन टु माली (संयुक्त राष्ट्र संघीय बहुआयामिक एकीकृत स्थिरीकरण माली मिसन (मिनुस्मा)मा शान्तिसेनाको रूपमा सेवा गरे ।
मिनुस्मासँगको सेवापछि, ट्राओरेले विशेष आतंकवादविरोधी एकाइको सदस्यका रूपमा उत्तरी बुर्किना फासोमा चलेको सैन्य मिसनमा सहभागी भए । सन् २०२० मा ३२ वर्षको उमेरमा उनलाई कप्तान पदमा पदोन्नति गरिएको थियो । लेफ्टिनेन्ट कर्नेल दामिबाले जनवरी २०२२ मा तत्कालीन राष्ट्रपति काबोरेविरुद्ध कू गर्दा उनले समर्थन जनाएका थिए । कूमा समर्थन गरेका कारण दामिबाले ट्राओरेलाई बुर्किना फासोको मध्य क्षेत्रमा तोपखाना रेजिमेन्टको प्रमुखको रूपमा नियुक्त गरे । दामिबाले सेनाभित्र प्रभाव र लोकप्रियता गुमाउँदै गएको स्थितिमा ट्राओरे र कनिष्ठ अधिकारीहरूको एक समूहले उनलाई नै कूमार्फत हटाएका थिए । जबर्जस्ती सत्ता हात लिने प्रयासमा ११ सैनिक र दर्जनौँ नागरिक मारिएका थिए । सत्ता कब्जा गरेर अन्तरिम राष्ट्रपति घोषित भएपछि धेरै देशवासीले उनको नाम पहिलोपटक सुनेका थिए । त्यस्तोमा गत साता क्रेमलिनमा भ्लादिमिर पुटिनलाई भेट्दा यी नेताबारे रुस र बाँकी पश्चिमका मानिसलाई यी को हुन् भन्ने अज्ञानता हुनु स्वाभाविक हो ।
पश्चिमका लागि अपरिचत यी युवा नेताले पछिल्लो अढाई वर्षमा आफूलाई अफ्रिकाको केही भागमा एक ‘आइकन’का रूपमा विकास गर्न सफल भएका छन् । यसमा उनलाई रुस र विशेषगरी सामाजिक सञ्जालमा भाइरल बनेका एआई निर्मित भिडियोले सघाइरहेको छ । पश्चिम त्यसमा पनि विशेषतः पूर्वऔपनिवेशिक शासक फ्रान्समाथिको निर्भरता कम गर्नेतर्फ उनले चालेको कदमले निराश अफ्रिकी युवाहरूमाझ उनको मसिहा (मुक्तिदाता) छविसम्म बनेको छ ।
केहीले उनमा सन् १९८० को दशकमा बुर्किनो फासोमा चार वर्ष शासन गरेका माक्र्सवादी र प्यान–अफ्रिकन(अफ्रिका एकताका पक्षधर) क्रान्तिकारी थोमस संकाराको प्रतिछायाँ पनि देख्न थालेका छन् । विश्लेषकहरू र कूटनीतिज्ञहरूले भने उनको बढ्दो लोकप्रियतामा अफ्रिकाका बयोवृद्ध नेतृत्वहरूप्रतिको मोहभंग जिम्मेबार देख्छन् । साथमा उनले सुरु गरेको स्वाभिमान राजनीतिमा अफ्रिकी जनताले पश्चिमसँग समान सम्बन्धको चाहना पनि प्रतिबिम्बित भएको विश्लेषण भएको छ । यसलाई रुसको दुष्प्रचार अभियानले थप बढाएको आरोप छ । आलोचकहरूले दुष्प्रचारमार्फत उनलाई पश्चिमविरोधी ‘आइकन’ बनाउने र बुर्किना फासोको दयनीय सुरक्षा अवस्थाबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
ट्राओरेको आगमनपछि उनी र उनका रुसी भाडाका सेनाले पनि बुर्किना फासोको सुरक्षा अवस्था सुधार्न सकेका छैनन् । नाजुक सुरक्षा अवस्थाका बिच ट्राओरलाई पश्चिमी शक्तिहरूको अवज्ञा गर्ने र आफ्नो देशको प्रतिष्ठा पुनः प्राप्त गर्ने निडर सुधारकको रूपमा चित्रण गर्ने सूचना सामाजिक सञ्जालमा व्यापक फैलिएका छन् । यस शक्तिशाली अनलाइन अभियानबाट छोटो समयमै उनले अफ्रिकी नायकको स्थान सुरक्षित गरेका छन् । अन्य अफ्रिकी देशका नागरिकले उनको जोशलाई आफ्ना नेताहरूको कमजोरीसँग तुलना गरिरहेका छन् ।
सिग्नल रिस्कका निर्देशक रायन कमिंग्सका अनुसार ट्राओरेको उदयले धेरै अफ्रिकी नेताहरूलाई असहज बनाएको बताए । रक्तपातपूर्ण इस्लामी विद्रोहसँग जुध्न असफल नेतृत्वप्रति उत्पन्न जनआक्रोशलाई पुँजीकृत गर्दै सन् २०२२ को कूपछि ट्राओरेले सत्ता सम्हाले । सत्तामा पकड बलियो बनाएपछि उनको सैन्य सरकारले देशमा दशकौँदेखि तैनाथ फ्रान्सेली सेनाहरूलाई बाहिर निक्लन आदेश दियो । फ्रान्सेली फौज बाहिरिएपछि तिनको स्थान अहिले रुसी फौजले लिएको छ । त्यसपछि उनले छिमेकी माली र पछि नाइजरसँगै साहेल क्षेत्रमा रुस समर्थित सैन्य सरकारको बेल्ट नै निर्माण गर्न भूमिका खेले ।
मस्कोले यस क्षेत्रको खानी, विशेषतः सुनखानीमाथिको पहुँचको बदलामा भाडाका सैनिकहरू, हतियार र विशेषज्ञता प्रदान गरेको छ । रुससँग गठबन्धनको विभिन्न फाइदामध्ये ट्राओरेले उसको सशक्त दुष्प्रचार संयन्त्रको पनि साथ पाएका छन् । त्यो संयन्त्र अहिले ट्राओरेलाई अफ्रिकी ‘आइकन’ बनाउन तल्लीन देखिन्छ । सामाजिक सञ्जालमा व्यापक सेयर गरिएका पोस्टले ट्राओरेबारे धेरै भ्रामक दाबी गरेका छन् । जस्तै, एक पोस्टमा उनले देशको सबै सार्वभौम ऋण चुक्ता गरेका दाबी गरिएको छ । अनि अर्कोमा सहेल क्षेत्रका सैन्य शासनप्रतिमा आमसमर्थन रहेको बताइएको छ । एक पोस्टले त डोनाल्ड ट्रम्पले समेत ट्राओरेको नेतृत्वको प्रशंसा गरेको भनिएको छ । अर्को व्यापक सेयर गरिएको पोस्टमा बुर्किना फासोले स्वतन्त्र रूपमा अफ्रिकामै पहिलो विद्युतीय कार विकास गरेको भनिएको छ ।
यो महिनाको सुरुमा जारी गरिएका केही डिपफेक एआई भिडियोले कथित रूपमा चर्चित अमेरिकी पप गायिकाहरू बेयोन्से र रिहानालगायतका स्टारले उनको सम्मानमा गीत गाएको देखाउँछन् । ‘ट्राओरेको पक्षमा प्रचार निकै ठुलो अभियान चलिरहेको देखिन्छ । केही देशका उत्साही युवाबाट स्वतस्फूर्त आएका छन् भने बाँकी ठुलो हिस्सा भने रुस र रुससँग नजिक रहेका ल्याटिन अमेरिकी सहयोगी देशबाट आएको देखिन्छ,’ युरोपेली काउन्सिल अन फरेन अफेयर्ससँग आबद्ध बिल ब्राउन भन्छन्, ‘यो पश्चिमाविरोधी लोकतान्त्रिकविरोधी एजेन्डाबाट प्रेरित देखिन्छ, जसले निराश युवाहरूमा एक बलियो सैन्य नेतृत्वलाई स्थापित गर्ने प्रयास गर्छ । त्यसबाहेक यस प्रचार अभियानले अफ्रिकी डायस्पोरामा पनि पश्चिमविरोधी भावना फैलाउन पनि केन्द्रित छ ।’
यसैले गर्दा ट्राओरे छिट्टै बुर्किना फासोभन्दा बाहिर अफ्रिकी देशहरूमा समेत आइकन बनेका छन्, जसले अन्य अफ्रिकी नेतालाई अप्ठ्यारोमा पार्ने गरेको छ । गत महिना, नाइजेरियाली अभिनेत्री तथा राजनीतिज्ञ हिल्डा डोकुबोले एक सम्बोधन गर्दै भनेकी थिइन्ः ‘एउटा नेताले देशलाई आकार दिन्छ भन्ने कुराको प्रमाण हुन्, इब्राहिम ट्राओरे । तर, आज नाइजेरिया जहाँ छ, त्यसमा यहाँ नेताहरूको दुष्टता जिम्मेबार छ ।’
तथापि, ट्राओरेको छविको चमकलाई उनको देशको दयनीय सुरक्षा अवस्थाले गिज्याइरहेको छ । सुरक्षा व्यवस्था कडा बनाउने प्रतिज्ञाका बाबजुद राष्ट्रिय सेनाको पकडमा देशको ३५ प्रतिशत भूभाग मात्र रहेको अनुमान छ । बुर्किना फासोका कैयौँ सहर अहिले ‘जमात नस्र अल–इस्लाम वाल मुस्लिमिन (जेएनआइएम)’ जस्ता जिहादी समूहहरूको घेराबन्दीमा छन् । सशस्त्र द्वन्द्व भइरहेका स्थानको तथ्यांक राख्ने अमेरिकाको ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट’को तथ्यांकअनुसार सन् २०२२ मा कू हुनुअघिको वर्षमा सरकार र सशस्त्र समूहबाट मारिएका मानिसको संख्या २,८९४ जना थियो । यो संख्या गत वर्ष ७,२०० पुगेको छ । उनको शासनमा आमनागरिक र मिडियामाथि व्यापक दमन भएको आरोप पनि छ । मे ११ मा ट्राओरे पुटिनसँग भेटेर फर्किँदै गर्दा देशका कैयौँ स्थानमा अतिवादीहरूले शृंखलाबद्ध आक्रमण सुरु गरेका थिए ।
अल–कायदासँग आबद्ध पश्चिम अफ्रिकी विद्रोही जेएनआइएमले उत्तरी सहर जिबोमा रहेको एक सैन्य अड्डा कब्जा गरेको बताएको छ । आक्रमणमा २०० सैनिक मारिएको दाबी प्रमाणित गर्न असम्भव छ । तथापि, भूउपग्रहीय तस्बिरले त्यहाँ व्यापक क्षति देखाएको छ । देशको बिग्रँदो सुरक्षा अवस्थाले उनीविरुद्ध नै अर्को सैन्य विद्रोहको जोखिम बढाउँछ । रुसले उनको छवि निर्माण गर्न यति धेरै प्रयास गरिरहेको कारण यही हुन सक्छ । कमिंग्सले भनेः “ट्राओरे साहेल क्षेत्रका सैन्य नेताहरूमध्ये सबैभन्दा बढी सत्ताच्युत हुने जोखिममा छन्, यसैले उनको छवि विकासमा यति मिहिनेत गरिएको हुन सक्छ ।’ उनले बाहिर आफूलाई नवउपनिवेशविरोधी नेताका रूपमा प्रस्तुत गरे पनि यथार्थमा भने उनले एउटा युरोपेली शक्तिलाई निकालेर अर्को शक्ति भिœयाएको देखिन्छ । ‘पहिले फ्रान्सले पाउँदै आएको प्राथमिकता अहिले रुसले पाइरहेको छ,’ कमिङले भने ।
– द टेलिग्राफबाट