Skip This
सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छाड्न आदेश
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार o६:२८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छाड्न आदेश

बागलुङको इमेज सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामै छन् देवकुमार नेपाली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार o६:२८:oo

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्षसमेत रहेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीलाई सहकारी ठगी मुद्दामा २० लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको छ । उनीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यद्यपि, बागलुङको इमेज सहकारी ठगी मुद्दामा नेपाली पुर्पक्षका लागि थुनामै रहेकाले रिहा हुन पाउने छैनन् । उनी ०७९ को निर्वाचनमा एमालेबाट ढोरपाटनको मेयर बनेका थिए ।

बयान र थुनछेक बहसपछि कास्की अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिए पनि लगत्तै बागलुङ प्रहरीले पक्राउ गरी बागलुङ कारागार लगेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा गत वर्ष ७ पुसमा ४४ जनाविरुद्ध पूरक मुद्दा चलाउँदा नेपाली पनि प्रतिवादी थिए । नेपालीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

नेपाली सूर्यदर्शनमा ६ पुस ०६७ मा सदस्य र त्यसपछि १७ मंसिरदेखि २ फागुन ०६८ सम्म सञ्चालक समिति सदस्य तथा उपाध्यक्ष थिए । अभियोगपत्रमा उल्लेख भएअनुसार नेपाली उपाध्यक्ष रहेको कार्यकालमा १८ करोड १२ लाख बचत अपचलन भएको थियो । ज्ञानबहादुर बमजनको अध्यक्षताको कार्यसमितिमा नेपाली उपाध्यक्ष थिए ।

इमेज सहकारी ठगीमा साढे सात महिनादेखि कारागारमा छन् नेपाली
देवकुमार नेपाली बागलुङमा रहेकोे इमेज सहकारीका संस्थापक अध्यक्ष पनि हुन् । फरार रहेको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ परेका नेपाली साढे सात महिना (१५ असोज) मा बागलुङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यो मुद्दा टुंगिसकेको छैन । फरार रहेकै वेला नेपाली, उनकी पत्नी छेलासहित ११ जनाविरुद्ध ०८० साउनमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण र जफत) ऐन, २०७० अन्तर्गत मुद्दा चलाएको थियो ।

बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीको बुर्तिबाङ र गलकोटमा सेवा केन्द्र थियो । यो सहकारीको एक अर्ब ३० करोड ठगी भएको थियो । उनीसहितका सञ्चालक र कर्मचारीले आकर्षक ब्याजदरको प्रलोभनमा पारेर सुरुमा बचत गर्न लगाएका थिए । बचतकर्ताको रकम मनोमानी नियम–कानुनविपरीत खर्च गरिएको थियो ।

सहकारीको कोषको रकमबाट मेयर नेपालीले बागलुङ सदरमुकाममा हेलिप्याडसहितको ढोरपाटन दरबार होटेल तथा दुई व्यापारिक कम्प्लेक्स, पोखरामा अरू दुई कम्प्लेक्स र काठमाडौंमा समेत घरजग्गा जोडेका छन् । दम्पतीका नाममा बागलुङ, पोखरा र काठमाडौंमा मात्रै ५५ कित्ता जग्गा खरिद गरिएका छन् । पत्नी छेलाको नाममा मात्रै दुई करोड ८६ लाख मूल्यको ल्यान्डक्रुजर र सन्तोष नेपालीका नाममा ४२ लाख मूल्यको स्कार्पियोसमेत देखिएका छन् । 

सहकारी ठगीमा संस्थापक अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले ०८० जेठमा उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरी ५ जेठ ०८० मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए ।

कुनै वेला एउटै सहकारीमा थिए जिबी, ज्ञानबहादुर र देवकुमार
ठुला सहकारीको अर्बाैँ हिनामिनामा संलग्नको सञ्जाल एउटै छ । गोर्खा सेभिङका ज्ञानबहादुर बमजन, सूर्यदर्शनलगायत पाँच सहकारीका सञ्चालक जिबी राई तथा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली कुनै समय एउटै सहकारीमा थिए ।

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदनअनुसार कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी रहेका वेला ज्ञानबहादुरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था खोलेका थिए ।

२६ असार ०६५ मा खुलेको सहकारीका अध्यक्ष ज्ञानबहादुरले तीन वर्षपछि जिबीलाई पद हस्तान्तरण गरेका थिए । जिबी ज्ञानबहादुरका बहिनीज्वाइँ हुन् । जिबी कल्याण सहकारीका अध्यक्ष हुँदा देवकुमार उपाध्यक्ष थिए ।

‘जिबीसँग विवाद भएपछि देवकुमार नेपालीले इमेज सहकारी स्थापना गरे,’ प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीका प्रमुख नाइके तीनमध्ये नेपाली मात्र पुर्पक्षका लागि थुनामा छन्, दुईजना फरार छन् । सूर्यदर्शनमा जिबीपछि भूपेन्द्र राई र पछिल्लो समय थानबहादुर बुढा अध्यक्ष भएका थिए ।