
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच बिहीबार टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो।
त्यस अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
त्यस्तै, उनीहरूबिच नेपाल–जापान सम्बन्धको ७० वर्षे इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भएको थियो। नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन्।
त्यस भेटका अवसरमा मन्त्री डा. राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन्। मन्त्री डा. राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन्।
मन्त्री डा. राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन्।
परराष्ट्रमन्त्री डा. राणाले नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि पुरानो सम्बन्ध रहिआएको प्रसंग उल्लेख गर्दै भनिन्, ‘दुई देशबीच भगवान गौतम बुद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको छ। बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबिचको एक सांस्कृतिक सेतु पनि हो।’
लुम्बिनीलगायत नेपालको प्राकृतिक, सांस्कृतिक, अलौकिकताको अध्ययन एवं अवलोकनका लागि नेपालमा बर्सेनि हजारौँ जापानी पर्यटक आउने गरेकाे भन्दै मन्त्री डा. राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यबारे पनि कुराकानी भएको बताइन्।
त्यस्तै, मन्त्री डा. राणाले नेपालले यसै हप्ता आयोजना गरेको सगरमाथा संवादमा जापान सरकारका तर्फबाट उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताका लागि विशेष धन्यवाद पनि दिएकी थिइन्।