
सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायब निरीक्षक पदमा पदोन्नति गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसी) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायब निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर फहराउन सफल भएकी थिइन्।
शेर्पालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार एक कार्यक्रमबिच स्वागत गर्दै दोसल्ला ओढाएर सम्मानसमेत गरे।