Skip This
डिआइजी बढुवामा ‘राअवि’ टोली हाबी, सशस्त्रमा निर्णय हुन सकेन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ७ बुधबार १७:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

डिआइजी बढुवामा ‘राअवि’ टोली हाबी, सशस्त्रमा निर्णय हुन सकेन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १७:o२:oo

नेपाल प्रहरीको डिआइजी बढुवा विवादमा परेको छ । वरिष्ठताका नाममा पटक-पटक कारबाहीमा परेका र विवादास्पद अधिकृतलाई मात्र सिफारिस गरेपछि बढुवा विवादमा परेको हो ।  डिआइजीका रिक्त ११ पदमा मंगलबार बढुवा सिफारिस हुँदा  नौजना राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका टोलीको सिफारिस भएको छ । त्यसमापनि अधिकांश कारबाहीमा परेका र विवादास्पद छवी भएकाहरू छन् । 

एसएसपीहरू सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउजा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङको बढुवा सिफारिस भएको हो । उनीहरूमध्ये कोइराला र रेग्मीबाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृत हुन् । बढुवामा २०५६ सालमा भर्ना भएको ११२ को टोली पनि दाबेदार थियो । प्रधानमन्त्री केपी ओली राअवि टोलीलाई बढुवा नदिने पक्षमा थिए । पछि गृहमन्त्री हावी भएपछि नयाँ टोलीलाई छाडेर उनीहरुलाई मात्र बढुवा गरिएको स्रोत बताउँछ । जसले प्रहरीमा असन्तुष्टि देखिएको छ । 

चलखेलले रोकियो सशस्त्रको बढुवा
सशस्त्र प्रहरीमा चलखेलका कारण रिक्त रहेको एआइजी पदमा बढुवा हुन सकेको छैन । गत ४ वैशाखमै एआइजीको पद रिक्त भएको थियो । रिक्त पदमा बढुवाका लागि १५ वैशाखमा सूचना प्रकाशन गरी एक साताभित्र फारम भर्न भनिएको थियो । जसमा आठजना डिआइजीले फारम भरेका छन् । तर, गृह मन्त्रालयले निर्णय गर्न सकेको छैन । ‘यसरी सूचना निकालेर पनि बढुवाको निर्णय गर्न नसकिएको पहिला थाहा थिएन,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने । 

बढुवाका लागि कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी मुख्य दाबेदार हुन् । बरियतामा पछाडी रहेका केहीले बिचौलियामार्फत बढुवामा अस्वस्थ चलखेल बढाएपछि निर्णय हुन नसकेको स्रोत बताउँछ । उनीहरूमध्ये पहिलो नम्बरका गिरी र दोस्रो नम्बरका मगरबिच मुख्य प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । एआइजीमा बढुवा रोकिँदा तल्लो तहसम्मैको वृत्ति विकास रोकिएको छ ।