
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन्
अब यी विधेयकहरू प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफल हुनेछन्। समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ।
सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ। प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्थामा विभाजन गरिनेछ । नियामक निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहनेछन् ।