१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १३:o७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १३:o७:oo

बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको संख्या ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। आप्रवासनका लागि दिइएका दसाैँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ । 

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् । 

सन् २०२४ मा बेलायतमा शरण माग्नेको संख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । यो समयमा ८४ हजार दुई सयले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बिचमा औसतमा २७ हजार पाँच सय शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए । 

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । इयूमा यो संख्या प्रति १० हजार २५ रहेको थियो । 

सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को ६ प्रतिशतको तुलनामा झन्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो । 

सन् २००४ देखि सन् २०२१ को बिचमा, शरणार्थीका लागि लगभग तीनचौथाइ आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनः आवेदन गरेका थिए भने त्यसमध्ये एकतिहाइले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो संख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब दुई लाख २४ हजार सात सय मुद्दामाथि सुनुवाइ भएको र यसमध्ये ८७ हजार दुई सय प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार पाँच सय आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो संख्या सन् २०२२ देखि घट्दै गएको छ, तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनुपरेको छ भने ठुलो संख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुंगामा च्यानल पार गर्नेको संख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इंग्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
 
तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो संख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो ।

सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठुलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रवासी शरणार्थीको संख्या बढी हुने गरेको थियो ।