
साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ८.४१ अंक (०.३२ प्रतिशत)ले घटेर दुई हजार ६११.८५ विन्दुमा झरेको हो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि समान दरले घटेको छ।
कारोबारमा आएका ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन आठ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
होटेल तथा पर्यटन समूहको सूचक झन्डै पाँच प्रतिशतले वृद्धि हुँदा म्युचल फन्ड र व्यापार एक प्रतिशतभन्दा थोरैले बढेका छन्। बाँकी सबै समूहमा गिरावट आएको छ। विकास बैंक दुई प्रतिशत र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरैले ओरालो लागेका हुन्।
बजार घटे पनि ओम मेगाश्री फर्मास्युटिकल्स र उपकार लघुवित्तको सेयर मूल्य नौ प्रतिशत तथा बाराही हाइड्रोपावर र सोल्टी होटेलको मूल्य आठ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
तर, कर्पोरेट विकास बैंक र जोशी हाइड्रोपावर विकास कम्पनी सर्वाधिक गुमाउनेमा परेका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः आठ र सात प्रतिशतभन्दा धेरैले घटेको छ।