Skip This
मनसुन सुरु हुनुअगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनसुन सुरु हुनुअगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनुअगावै सडकको मर्मतसम्भार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।

बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले विपतकाे पूर्वतयारी गर्न माग गरिन् । अत्यावश्यक वस्तुको कृत्रिम अभाव देखाएर मूल्य वृद्धि हुन नदिन, सुलभ आपूर्तिको व्यवस्था गर्न र प्रशासनिक निगरानी सुनिश्चित गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले यही जेठ १५ गते महत्त्वपूर्ण दिन गणतन्त्र दिवस भएकाले सोही दिन बजेट ल्याउने संवैधानिक व्यवस्थालाई संशोधन गर्न आग्रह गरे । कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटको समय आएको भन्दै सिँचाइ र तटबन्धको क्षेत्रमा बजेट बढाउनुपर्ने माग गरे ।

कांग्रेसकी सांसद शान्ति विकले धर्मनिरपेक्ष देशमा धर्मको नाममा भेदभाव, हिंसा फैलन नदिन माग गरिन् । सबैको आस्थाप्रति समान व्यवहार गर्न उनले सरकार र सबै दलको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने नागरिकको मौलिक अधिकार भए पनि त्यो पूरा हुन नसकेको बताए । उनले पोखरा महानगरपालिकाभित्र फोहाेर उठाउने गाडीले लाचुक क्षेत्रको फोहाेर नउठाएको, मर्दी खोलामा फोहाेर फालेको भन्ने विषयमा पोखरा महानगरपारिलका, नेपाल खानेपानी संस्थान पोखरा र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले जापानको ओसाकामा आयोजना भइरहेको ‘ओसाका वर्ल्ड एक्स्पो २०२५’मा विश्वका १६० भन्दा बढी राष्ट्रले आ–आफनो पहिचान र सम्भावना प्रदर्शन गरिरहेका बताए ।

उनले उक्त कार्यक्रम करिब दुई करोड ८० लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानी गर्ने सुनौलो अवसर हुँदा पनि त्यससम्बन्धी सामग्री पूरा नगरेको भन्दै यस विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धिका लागि उचित बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।