
‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले ६.५ अंक जोड्दै प्रथम स्थान ओगटेका हुन्।
सात राउन्डको प्रतियोगितामा समान साढे पाँच अंक जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धीरेन राई तेस्रो भए। उपाधि विजेता नेपाली पूर्वनेपाल च्याम्पियनसमेत हुन्।
यस्तै, रौतहटका रूपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौंका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ स्थानमा आएका प्रतियोगिताका सहजकर्ता बुद्धिचाल संघ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिए।
विभिन्न जिल्लाका ४१ खेलाडी सहभागी प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार रुपैयाँ तथा छैटौँदेखि दशौँसम्मका खेलाडीलाई जनही नगद चार-चार हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित प्रतियोगितामा अनरेटेट, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिको सर्वोत्कृष्ट तथा नगर प्रथमसमेत चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए।
अनरेटेटतर्फ सर्वोत्कृष्टमा दाङका बेदु सारूमगर, भेट्रानतर्फ सर्वोत्कृष्ट सुनसरीका चूडामणि कुलुङ राई, खोटाङ प्रथममा हलेँसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका दयन्द्र राई, १६ वर्षमुनिकामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सुयव सैँजू तथा दिक्तेल रूपाकोट मझुवागढी नगर प्रथममा पदमकुमार राई चयन भएका छन्।
अनरेटेट सारूमगर र भेट्रान चूडामणिले नगद रु. तीन-तीन हजार, खोटाङ प्रथम दयन्द्रले नगद रु. पाँच हजार, १६ वर्षमुनिका सैँजू र नगर प्रथम राईले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।